हेटौंडा । मनहरीको पशुपतिनाथ माविमा अभिभावक सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विद्यालयका दुईसय ३० भन्दा बढी अभिभावकको सहभागिता रहेको थियाे ।
गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाप्रमुख प्रदीप पराजुली, मनहरीस्थित आमाघरका संस्थापक ब्रम्हकुमार बिजयराज सिग्देल, मनहरी गाउपालिका स्रोतशिक्षक बिदुर थापाले सहजीकरण गरेको कार्यक्रम विद्यालय ब्यवस्थापन समिति अध्यक्ष माधव गौतमको सभाध्यक्षतामा भएको हो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्य, विब्यस पूर्वअध्यक्ष रामहरि बिष्टलगायतले बालबालिकाको भविष्यप्रति अभिभावकको जिम्मेवारी विद्यालयको भन्दा बढी हुने बताएका थिए ।
मनहरी गाउँपालिकाले बुधबारदेखि अभिभावकलाई सचेतना कार्यक्रम सुरु गरेको छ । शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार समृद्ध मनहरीको आधार भन्ने उद्देश्यले सुरु गरिएको सचेतना कार्यक्रममा पहिलो दिन ८३ जना अभिभावक सहभागी भएको गाउँपालिका शिक्षाप्रमुख पराजुलीले जानकारी दिए । पहिलो दिन जनज्योति आधारभूत विद्यालयमा, बिहीबार प्रजा आधारभूत विद्यालयमा, शुक्रबार पशुपतिनाथ माध्यमिक विद्यालयमा अभिभावकलाई सचेतना दिइएको हो ।
भोलि शनिबार ब्रम्हकाली आधारभूत विद्यालयमा, २१ गते राष्ट्रिय माविमा, २२ गते राष्ट्रिय रोटरी माविमा, २३ गते सगरमाथा आधारभूत विद्यालयमा कार्यक्रम हुनेछ । मनहरी गाउँपालिकामा ३२ वटा सामुदायिक र ७ वटा संस्थागत विद्यालयमा ८ हजार ५ सय विद्यार्थी अध्ययनरत् छन् ।












प्रतिक्रिया दिनुहोस्