हेटाैँडा । मकवानपुर प्रहरीले ११ किलो गाँजासहित २ जनालाई पक्रेको छ ।  पक्राउ पर्नेमा पर्साको सखुवा पर्सौनी गाउँपालिका १ का ४२ वर्षका सुरेश दास थारु र पर्साकै पर्सागढी नगरपालिका २ का २९ वर्षका अर्जुन महतो थारु रहेका छन् ।

नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको लु १ ख ७३९५ नम्बरको बसलाई चेकिङको क्रममा उनीहरु गाँजासहित पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय नेवारपानीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १९ मा चेकिङको क्रममा ११ किलो गाँजासहित २ जनालाई पक्रेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शंकाका आधारमा उनीहरुको झोला खानतलासी गर्दा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।पक्राउ परेका दुवैजनालाई जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको उनले बताए ।