हेटाैँडा । बागमती प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् (प्रदेश सिटिइभिटी)मा ६ जना सदस्य नियुक्त गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार सदस्यहरू नियुक्ति गरिएको हो।
परिषद्को सदस्यमा धादिङ धुनिबेँसी नगरपालिका– ५ का नवराज धिताल, चितवनको खैरहनी नगरपालिका–१२ का नन्दकिशोर चौधरी, मकवानपुरको हेटौँडा–६ का उज्वल चौलागाईं, सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ की सीतामाया स्याङ्तान, काठमाडौं–१६ की हसना महर्जन र काठमाडौं–२८ का माधवदेव पन्त रहेका छन्।
नियुक्त भएका ६ सदस्यहरूलाई बिहीबार सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले शपथग्रहण गराएकी छिन्। ‘प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद् ऐन, २०७४’ अनुसार गठित परिषदमा सामाजिक विकासमन्त्री अध्यक्ष रहने तथा एक कार्यकारी निर्देशक रहने व्यवस्था छ।
ऐनको दफा ३ को उपदफा (२) खण्ड (ठ)बमोजिम प्रदेशस्तरीय ट्रेड युनियन समन्वय समितिबाट एकजना सदस्य मनोनयन हुन बाँकी छ।
परिषदमा नीति तथा योजना आयोग, मन्त्रालयका सचिवहरू, प्राविधिक तालिमविज्ञ, उद्योग क्षेत्रका प्रतिनिधि र ट्रेड युनियन समन्वय समितिका प्रतिनिधि सदस्य रहने व्यवस्था छ। यसपटक नियुक्त भएका ६ जना सदस्यहरू विज्ञता र प्रतिनिधित्वका आधारमा छनोट गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिम परिषद् (प्रदेश सिटिइभिटी)ले प्रदेशमा योजनाबद्ध रूपमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवं तालिमको व्यवस्था गरी प्राविधिक जनशक्ति उत्पादन तथा प्राविधिक सिपको स्तर निर्धारण तथा प्रमाणीकरणको क्षेत्रमा काम गर्दै आएको छ। नयाँ पत्रिकाबाट












प्रतिक्रिया दिनुहोस्