हेटाैँडा । मकवानपुरको मनहरी गाउँपालिका- १, मकरीमा लागुऔषध सेवन तथा झै-झगडा नियन्त्रण गर्न पुगेको प्रहरी टोलीमाथि आक्रमण भएको छ । आक्रमणमा एक प्रहरी अधिकारी घाइते भएका छन् भने आत्मरक्षाका लागि प्रहरीले गोली चलाउँदा एक युवकसमेत घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डिएसपी पुष्कर बोगटीका अनुसार घटनामा संलग्न दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले घटनामा संलग्न हेटौँडा उपमहानगरपालिका– १२, रमनटारका २४ वर्षीय सञ्जय जिम्बा र सोही स्थानका ३५ वर्षीय अजय थिङलाई नियन्त्रणमा लिएको हो।
प्रवक्ता बोगटीका अनुसार बुधबार राति करिब ८:५० बजे उक्त स्थानमा लागुऔषध सेवन र झै-झगडा भइरहेको सूचना पाएपछि पदमपोखरी प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक (असइ) दिलबहादुर तामाङको कमान्डमा प्रहरी टोली खटिएको थियो ।
प्रहरीले घटनास्थलमा पुगेर सोधपुछ गर्ने क्रममा असइ तामाङमाथि अचानक बियरको बोतल, खुकुरी र बन्चरो प्रहार गरिएको थियो । आक्रमणबाट असइ तामाङको दुवै हातमा चोट लागी मध्यम घाइते भएको प्रहरीले जनाएको छ ।
आक्रमणपछि आत्मरक्षाका लागि असइ तामाङले आफूसँग रहेको पेस्तोलबाट एक राउन्ड गोली चलाउँदा हेटौँडा उपमहानगरपालिका– १२, हात्तीगौँडाका १९ वर्षीय सनिस तितुङको पेटको दाहिने भागमा गोली लागेको प्रहरीले जनाएको छ ।
घटनामा घाइते भएका प्रहरी अधिकारी र तितुङलाई उपचारका लागि हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा भर्ना गरिएको छ । घटनापछि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीको कमान्डमा थप प्रहरी टोली खटिएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका दुईजना र गोली लागेका तितुङ यसअघि लागुऔषध, ज्यान मार्ने उद्योग तथा चोरीसम्बन्धी विभिन्न आपराधिक घटनामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्त बोगटीले जानकारी दिए ।












प्रतिक्रिया दिनुहोस्