हेटाैँडा । बागमती प्रदेश सरकारले ‘भाषा दिवस’का अवसरमा वैशाख २४ गते बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सोमबार सूचना जारी गर्दै ‘सरकारी कामकाजी भाषा ऐन, २०७९’ कार्यान्वयनमा आएको दिनलाई स्मरण गर्दै हरेक वर्ष वैशाख २४ गते भाषा दिवस मनाउने र सो दिन सार्वजनिक बिदा दिने व्यवस्था गरिएको जनाएको छ ।
मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीका अनुसार सो दिन प्रदेशअन्तर्गतका सबै सरकारी कार्यालय तथा निकाय बन्द रहनेछन् ।
यसअघि ०८२ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले भाषा दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरी प्रदेश सरकारको वार्षिक क्यालेन्डरमै समावेश गरेको थियो। सोही निर्णयअनुसार ०८३ वैशाख २४ गतेका दिन प्रदेशभर सार्वजनिक बिदा लागू गरिएको हो।
प्रदेश सरकारले भाषा, पहिचान र प्रशासनिक कामकाजमा मातृभाषाको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले भाषा दिवस मनाउँदै आएको जनाएको छ ।












प्रतिक्रिया दिनुहोस्