हेटाैँडा । चेपाङ र तामाङ समुदायको बाहुल्य रहेको मकवानपुरको विकट मानिने कैलाश गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ। गाउँपालिकाभित्रका सबै लक्षित बालबालिकालाई नियमित खोप सेवाको पहुँचमा पुर्‍याएपछि मंगलबार एक कार्यक्रमबिच पालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।

गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख तिलकप्रसाद गौतमका अनुसार गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका ३०७ जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। वडा नम्बर १ मा १५, वडा नम्बर २ मा २१, वडा नम्बर ३ मा ४५, वडा नम्बर ४ मा २९, वडा नम्बर ५ मा २९, वडा नम्बर ६ मा १७, वडा नम्बर ७ मा ४७, वडा नम्बर ८ मा ४५, वडा नम्बर ९ मा २४ तथा वडा नम्बर १० मा ३५ जना बालबालिकाले पूर्ण खोप सेवा प्राप्त गरेका प्रमुख गौतमले बताए।

घोषणा कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका संयोजक ललितबहादुर घलानले खोप बालबालिकाको जीवन रक्षा गर्ने सबैभन्दा प्रभावकारी, सुरक्षित र भएको बताए। नियमित खोप सेवामार्फत बालबालिकालाई विभिन्न सरुवा रोगबाट सुरक्षित राख्न सकिने उल्लेख गर्दै उनले पूर्ण खोप सुनिश्चितता भनेको प्रत्येक बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित गर्नु भएको उल्लेख गरे।

कार्यक्रममा गाउँपालिका अध्यक्ष लोक मुक्तानले नियमित खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै गाउँपालिकाभित्रका सबै लक्षित बालबालिकालाई पूर्ण खोपको पहुँचमा पुर्‍याउन सफल भएको बताए। यो उपलब्धि स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, अभिभावक तथा समुदायको सामूहिक प्रयासको परिणाम भएको उनको भनाइ थियो। उनले पूर्ण खोप सुनिश्चितता घोषणासँगै जन्मिने प्रत्येक बालबालिकालाई समयमै खोपको पहुँच सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।

गाउँपालिकामा हाल चिकित्सकसहितको स्वास्थ्य सेवा सञ्चालनमा रहेको उल्लेख गर्दै अध्यक्ष मुक्तानले विकट भौगोलिक अवस्था, न्यून जनसंख्या तथा सीमान्तकृत समुदायको बसोबास हुँदाहुँदै पनि स्वास्थ्य सेवा प्रभावकारी रूपमा विस्तार गरिएको बताए। पोषण सुधार कार्यक्रम वडास्तरसम्म सञ्चालनमा रहेको र अब ‘जिरो होम डेलिभरी’ अभियानलाई प्राथमिकताका साथ अघि बढाइने उनले जानकारी दिए।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत सीताकुमारी खत्री, जनस्वास्थ्य कार्यालय मकवानपुरका खोप फोकल पर्सन मनिर आलम, सामाजिक विकास समितिका संयोजक तथा वडा नम्बर २ का अध्यक्ष राजेन्द्र तामाङ घिसिङलगायतले पूर्ण खोप सुनिश्चितता अभियानलाई दिगो रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए।