हेटौँडा । मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका– ७ मा भएको घर फोरेर चोरी प्रकरणमा संलग्न एकजनालाई चोरीका सामानसहित पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति जिल्ला रामेछाप हिमागंगा गाउँपालिका– ४ स्थायी घर भई हाल हेटौँडा उपमहानगरपालिका– १५ फारलाइनमा बस्दै आएका २५ वर्षीय मनोज पुलामीमगर रहेका छन् ।
उनी यसअघि जेन–जी आन्दोलनका क्रममा भीमफेदी कारागारबाट फरार भएका व्यक्ति रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार असार १० गते दिउँसो हेटौँडा– ७, क्याम्पडाँडानजिक सनउड कोलोनीमा रहेको कृष्णप्रसाद गौतमको घरमा परिवारका सदस्य कोही नभएको अवस्थामा चोरी भएको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा घरको पूर्वतर्फको ढोका फुटाएर चोरी गरिएको खुलेको प्रहरीले जनाएको छ। चोरले घरबाट करिब एक तोला सुन, २५.५ तोला चाँदी १५ वटा चाँदीका सिक्का तथा चार लाख रुपैयाँ नगद चोरी गरेको पीडितले प्रहरीमा जानकारी दिएका थिए।
घटनापछि प्रहरीले हेटौँडा– १५, फारलाइनस्थित मनोज पुलामीमगर बस्दै आएको कोठा फेला पारी खानतलासी गर्दा चोरीसँग सम्बन्धित विभिन्न सामग्री बरामद गरेको हो। प्रहरीले उनको कोठाबाट चाँदीका सिक्का, विभिन्न गरगहना, सुनजस्तो देखिने पहेँलो धातुका गहना, नगद तथा अन्य विभिन्न किसिमका सामग्री बरामद गरेको जनाएको छ।
बरामद भएका सामानहरू चोरी भएका सामग्रीसँग मिल्दोजुल्दो रहेको र त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सोधपुछका क्रममा पक्राउ परेका मनोज पुलामीमगर जेन–जी आन्दोलनका क्रममा भीमफेदी कारागारबाट फरार भएका व्यक्तिसमेत रहेको खुलेको प्रहरीले जनाएको छ। उनी फरार भएपछि प्रहरीको खोजी सूचीमा रहेका थिए।
हाल उनलाई बरामद सामानसहित जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याई चोरी तथा अन्य सम्बन्धित कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। चोरीमा अन्य व्यक्तिको समेत संलग्नता रहेको वा नरहेको विषयमा पनि अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
यसैबिच मकवानपुर प्रहरीले सर्वसाधारणलाई घरको सुरक्षा व्यवस्थामा विशेष ध्यान दिन आग्रह गरेको छ। प्रहरीले घरमा धेरै मात्रामा नगद तथा सुनचाँदीका गरगहना नराख्न, आवश्यक परे बैंकमा सुरक्षित राख्न तथा घर छोडेर बाहिर जाँदा छिमेकी वा आफन्तलाई जानकारी गराई निगरानीको व्यवस्था मिलाउन अनुरोध गरेको छ।












प्रतिक्रिया दिनुहोस्