हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ हुप्राचौरमा भ्युटावर सहितको बासुदेव बहुउद्देश्यीय भवन निर्माणको काम अघि नबढाउन चेतावनी दिएको छ ।

आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै राप्रपा बागमती प्रदेश सचिव गुञ्जनबहादुर न्यौपानेले हुप्राचौर मास्दै बहुउद्देश्यीय भवन बनाउन नहुने बताए । हेटौंडा बजार क्षेत्रमा बढ्दो शहरी करणले खुला ठाउँ नभएको भन्दै उनले खुला हुप्राचौर मास्न नहु्ने बताए । उनले आजै राप्रपा मकवानपुरले हेटौंडा उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै बहुउद्देश्यीय भवनको काम अघि नबढाउन अनुरोध गरिएको बताए ।

उनले उक्त हुप्राचौरमा बन्ने लागेको बहुउद्देश्यीय भवन हेटौंडा अस्पतालको परिसरमा निर्माण स्थानान्तरण गर्न र उक्त भवन हेटौंडा अस्पताललाई हस्तान्तरण गर्न माग गरे ।

यसैगरि,राप्रपा मकवानपुरका सह–कोषाध्यक्ष सन्दिप सापकोटाले हेटौंडा–४ हुप्राचौरमा स्व श्री ५ महाराजधिराज बिरेन्द्र वीर बिक्रम शाहदेवको शालिकको मर्मत सम्भार गरी बाटिका व्यवस्थापन गर्दै सर्वसाधरणको लाग सहज हुनेगरि खुला गरिनुपर्ने बताए ।

उनले हेटौंडा अस्पताललाई सम्पूर्ण विशेषज्ञ सहित ५०० शैयाको अस्पताल निर्माण तथा संचालन गर्न आवश्यक पुर्वाधार तथा अन्य सहयोग उपलब्ध गराउन र महिलाहरुको स्तन तथा पाठेघर र पुरुषहरुमा देखिने फोक्सो लगाएतका क्यान्सरहरुको निःशुल्क उपचार गर्नुपर्ने राप्रपाको माग छ । मागहरु सम्बोधन नभए शसक्त आन्दोलन र विरोधको कार्यक्रमहरु सार्वजनिक गरि संघर्षमा उत्रिन बाध्य हुने समेत राप्रपा मकवानपुरले जनाएको छ ।

पत्रकार सम्मेलनमा राप्रपाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।