हेटौंडा । हेटौंडा अस्पतालको अवस्था अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरिएको छ । स्वास्थ्य निर्देशनालय, बागमती प्रदेश, हेटांैडाका निर्देशक महेश्वर श्रेष्ठको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गर्ने निर्णय गरिएको हो ।
समितिले १५ (पन्ध्र) दिनभित्र हेटौंडा अस्पतालको सेवा प्रवाह, जनशक्तिको व्यवस्था, अस्पतालको व्यवस्थापकीय पक्षका साथै सुधार गर्न चाल्नु पर्ने आवश्यक सुझाव सहितको विस्तृत प्रतिवेदन पेश गर्ने छ ।
समितिको सदस्यहरुमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, हेटौंडाका चिकित्सक डा. अर्जुन सापकोटा, प्रदेश लेखा नियन्त्रक कार्यालय, बागमती प्रदेश हेटौंडाका लेखा अधिकृत होमनाथ रिजाल, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत गुणराज प्रसाद न्यौपाने, हेटौंडा उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष सविन न्यौपाने, उपभोक्ता हित संरक्षण मञ्च नेपाल हेटांैडा नगर सचिव सरोज विडारी, सार्वजनिक सेवा सुधार संघर्ष समितिका दिपेन्द्र चन्द ठकुरी र नेपाल पत्रकार महासंघ, मकवानपुर शाखाको प्रतिनिधि रहनेगरी समिति गठन गरिएको हो ।
पछिल्लो समय हेटौंडा अस्पतालबाट हुने सेवा प्रवाह, अस्पतालको व्यवस्थापकीय पक्ष लगायतका विषयमा जनगुनासो बढ्दै गएको र अस्पतालको गतिविधि सम्बन्धमा सरोकारवालाहरूले उठाएका चासोको विषयमा सत्य तथ्य अध्ययन गरी प्रतिवेदन पेश गर्न समिति गठन गरिएको हो ।












प्रतिक्रिया दिनुहोस्