तत्कालिन समयमा राजाबाट हुकुम प्रमाणीकरण भएपछि हेटौंडा ४ मा रहेको चौरको नाम हुप्रा चौर रहन गयो । यो स्थान पहिले जंगल थियो । २०११ सालको बाढी पछि भीमफेदी, भैंसे, नामटार, धादिङ र रामेछापका बाढीपीडितहरु सुरक्षित स्थानको खोजिमा यहाँ आएर आश्रय स्थल लिएर बसेका थिए ।

तत्कालिन समयमा यहाँ जग्गा सम्म थियो, जस्तो बालि लगाउँदा पनि राम्रो उत्पादन हुन्थ्यो । यहाँ पानीको पाँच वटा पोखरी थियो । पोखरीका कारण यहाँका स्थानीयले पानीको अभाव खेप्न परेन् । खेतीपाती राम्रो हुन्थ्यो । नगदेवाली तोरी, मकैं जे लगाएपनि राम्रो उत्पादन हुन्थ्यो । २०१८ सालपछि दरबारबाट हुकुम भएपछि यस स्थान हुप्रा भएको हो । यहाँ तत्कालिन सयमको अञ्चालाधिस र उनीहरुका मान्छे र दरबारीयाहरु आएर हस्तक्षेप गरे । हात्ती, घोडाले किचाएर यहाँ बसेका मान्छेहरु दरबारीयाले लखट्ने काम गरे । साना साना छाप्रा हालेर बसेका स्थानीयलाई दरबारीेयाले लखट्ने काम गरे । धेरै जनाको अंगभंग पनि भयो । त्यति बेला यहाँ सुन्दर शान्त तथा बालिहरु पनि लहलह लाग्दो थियो ।

तत्कालिन समयमा हुप्राचौरलाई के गर्ने भन्ने शिलशिलामा २०२३ सालमा बासुदेव रिजालले बालिक मताधिकारको बिषयमा चुनाव भयो । उनले चुनाव जितेपछि मलाई पनि बोलाईयो । म त्यतिबेला मकवानपुरको नामटारमा बस्थें । त्यसबेला खासै इन्जिनियरहरु थिएनन् । हेटौंडाको औद्योगिक क्षेत्रमा एकजना इन्जिनियर आएका थिए । पढेर आएपनि त्यति व्यवहारिक नभएकाले काम मैले गरे र साइन इन्जिनियरले गर्ने गरेका थिए ।

२०२६ सालमा हेटौंडा नगरपालिका गठन भयो । नगरपालिका गठन भएपछि हुप्राचौरमा मान्छेहरुको बसोबासको इच्छा जाग्यो । त्यहाँ स्यालहरु घुम्ने भएकाले हेटौंडा बजारका मान्छेहरु त्यहाँ जान चाहेनन् । हेटौंडामा जहाँबाट आएपनि त्रिभुवन राजपथ भएर जान पर्ने भएकाले हेटौंडा सेन्टर थियो, व्यापारिक मान्छेहरुले आँखा लगाए । यो जग्गा लिन पाए हुन्थ्यो भनेर उनीहरुले खोजी निति गरे । प्रधानपञ्च बासुदेव रिजालले अंगभंग भएका, हातखुट्टा नभएका मान्छे मलाई पनि देखाउनुभयो, अनि मैले पनि उनीहरुको अवस्था हेरें । त्यसपनि मैलेपनि थोरै पैसा लिएर, किस्ता बन्दीमा उनीहरुलाई जग्गा दिनुपर्छ भनेर मलाई प्रधानपञ्चले भन्नुभयो ।

त्यसपछि २०३५ सालमा नगर विकास समिति गठन भयो । अञ्चलाधिशबाट दरबारियाहरुको जग्गा भएकाले माथिल्लो निकायमा उनले गएर हेटौंडामा राम्रो, सुन्दर शहर बसाउन प¥यो भनेर प्रस्ताव गरेका थिए । प्रस्तावपछि दरबारियाहरु रिसाए । उनीहरुले अञ्चलाधिशलाई महाकालि जान सुझाव दिएका थिए ।

२०४० साल बैशाख तिरको कुरा हो, त्यति बेला निरशंकर श्रेष्ठ संग छलफल भयो । छलफल पछि म काठमाडौं गएर, दरबारीयाहरु संग दरबारीया भाषामै ज्यू, हजुर भनेर हुप्राको बिषय मिलाएर फर्केको थिए । त्यसपछि ३६ सय र ४६ सयमा तीन मिटर बाटो राखेर उनीहरुले एजेन्ट मार्फत जग्गा बिक्री गरेका थिए । उनीहरुसंग मैले एक बर्षको समय मागे । प्लानिङ गरेर जग्गा बिक्री गछौं, प्रतिकठ्ठा १० हजार दिन्छौं, भनेर उनीहरुलाई मैले कन्भिन्स गरे ।

त्यसपछि हेटौंडा फर्के र सम्बन्धीत व्यक्तिहरु भेटें । त्यसपछि जग्गाको प्लानिङको काम सुरु भयो । प्लानिङ गर्ने क्रममा हुप्रामा १० बिगाह जति पब्लिक ओपन स्पेश भनेर जग्गा राखेको थिए । एक बिगाह मन्दिरको लागि छुट्याईएको थियो । चारैतिर बाटो राखेपछि मन्दिरको जग्गा घट्यो । चिल्ड्रेन पार्कमा प्लानिङ गर्दा तीन कुने जग्गा आयो, त्यसपछि त्यसलाई पनि ओपन रुपमा छाडेका हौं ।

२०४० साल बैशाख र असारमा गोरखा पत्रमा सुचना निकालेर ९ धुर, १५ धुर र २० धुरका प्लटहरु बनाईयो, दुईवटा बाटो जोडिनेलाई ५० हजार, एउटा मात्रै बाटो जोडिनेलाई २५ हजार र बाँकीलाई २० हजारका दरले जग्गाहरु बिक्री गरेका थियौं । हुप्राचौरको जग्गा नेपाल बैंक र हेटौंडाबाहिरका मान्छेहरुले किनेका थिए । स्याल आउने ठाउँ भनेर सुरुका समयमा हेटौंडाका मान्छेहरुले जग्गा किन्न खासैैं रुचि देखाएनन् ।

हुप्राचौर बरिपरि घडेरी किन्नेहरुको नै हुप्रा चौरमा लगानी परेको छ । मोटामोटी ६५ बिगाह थियो, जसमध्ये १६ बिगाह बाटोमा गयो । ९ धुर, १५ धुर र १ कठ्ठाको प्लटहरु छ । बाटोहरु २० मिटर र १५ मिटरको राखेर मैलें प्लानिङ गरेको थिए ।

त्यति बेलै हामीले ओपन पब्लिक स्पेश (खुल्ला चौर) को अवधारणा सहित जग्गाको प्लानिङ गरेका थियौं । २०७२ सालको जस्तो प्राकृतिक प्रकोप भुकम्प आएका बेला होस्, अथवा खेलकुदका लागि मैदान, मनिङ्गवाक गर्ने स्थान, टुसुक्क बसेर स्वच्छ हावा खाने खुल्ला चौर भएको छ हुप्राचौर । पछिल्लो समयमा बिभिन्न वहानामा चौर मासिन थालेको मलाई पटक्कै मन परेन् । बिभिन्न वहानामा यहाँ संरचना बनाएर खुल्ला राखिएको चौर अतिक्रमण गरेको देख्दा धेरै चिक्त दुखेको छ ।

लेखकः केदार प्रसाद न्यौपाने, हुप्राका जानकार