हेटौँडा । हेटौँडा नगरको मुख्य क्षेत्रका साँघुरा सडकले सवारी सञ्चालनमा निम्त्याइरहेको कठिनाइ हटाउन हेटौँडा उपमहानगरपालिकाले ‘बोल्ड’ निर्णय गरेको छ ।

हेटौँडाको बीच बजारबाट दुईवटा राष्ट्रिय राजमार्ग पर्नेे भएकाले वर्षौदेखि साँघुरा सडक समस्या बन्दै आएका छन् । पूर्व–पश्चिम राजमार्ग र त्रिभुवन राजपथ बजारको मुख्य सडकमै पर्छन् । पूर्व–पश्चिमको सवारी चापलाई व्यवस्थापन गर्न बाइपासबाट मालबाहलक सवारीसाधन पठाइने गरिएको छ । तर, बजारका सडक साँधुरा हुँदा यातायात सञ्चालन र ट्राफिक व्यवस्थापनमा समस्या हुँदै आएको छ ।

यसअघि हेटौँडा उपमहानगरपालिका र बागमती प्रदेश सरकारले समेत गर्न नसकेको काम वर्तमान कार्यपालिकाले आँट गर्दै सोमबार अटो नियन्त्रण गर्न बोल्ड निर्णय गरेको हो । बजारको सवारीचाप व्यवस्थापन गर्न उपमहानगरपालिकाले पहिलो चरणमा तीन पाङ्ग्रे सवारी साधनलाई व्यवस्थित गर्ने भएको छ । उपमहानगरले आफ्नो क्षेत्रभित्र सञ्चालन अनुमति प्राप्त तीन पाङ्ग्रे सवारी साधनलाई मात्र सञ्चालन अनुमतिसहितको स्टिकर प्रदान गर्न लागेको हो ।

उपमहानगरको सोमबार बसेको कार्यपालिका बैठकले उपमहानगरभित्र सञ्चालनको लागि परमिट प्राप्त तीन पाङ्ग्रे सवारी साधनलाई नगरभित्र सञ्चालन अनुमतिको स्टिकर प्रदान गर्ने निर्णय भएको प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । उनका अनुसार गत ३२ असारमा उपमेयर राजेश बानियाँको अध्यक्षतामा बसेको पार्किङ व्यवस्थापन समितिको बैठकबाट गठित दुई उपसमितिले यातायात व्यवसायी, ट्राफिक प्रहरीसहित सरोकारवालासँगको छलफल र स्थलगत निरीक्षणबाट प्राप्त सुझावको आधारमा कार्यपालिकाले यस्तो निर्णय गरेको हो ।

७ पुस २०७६ सालदेखि हेटौँडा उपमहानगर क्षेत्रमा थप तीन पाङ्ग्रे सवारीसाधन दर्ता अनुमति नदिने निर्णय गरेको थियो । उक्त समयपछि विभिन्न पालिका तथा अन्यत्र जिल्लामा सञ्चालन अनुमति (परमिट) लिएर हेटौंडा बजार क्षेत्रमा अनधिकृतरुपमा सञ्चालन भइरहेका तीन पाङ्ग्रे सवारीसाधनलाई निषेध गर्ने गरी यस निर्णय गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए । हरियो स्टिकर प्रदान गरेसँगै अब हेटौंडा उपमहानगर क्षेत्रमा सञ्चालन अनुमति लिएका तीन पाङ्ग्रे सवारीसाधनबाहेक अन्यलाई निषेध गरिने उनले बताए ।

हेटौँडा बजारमा सडकको क्षमताभन्दा बढी तीन पाङग्रे अटो र मयुरी सञ्चालनमा छन् । तर, नगरभित्र सञ्चालित अटो र मयुरीको तथ्यांक भने कुनै पनि निकायसँग छैन । नगरका सडक अटो र मयुरीले छपक्कै भरिने गरेको छ । नगरका हरेक गल्लीदेखि मुख्य सडक नै अटो र मयुरीले भरिने गरेका छन् । अटो र मयुरीले मुख्य सडकको बीच भागबाटै बाटो काट्ने, जथाभावी पार्किङ गर्ने समस्याले दुर्घटनाको जोखिम बढेसँगै पार्किङ व्यवस्थापनमासमेत ट्राफिक प्रहरीलाई हम्मेहम्मे पर्ने गरेको छ ।

हेटौँडामा यसअघि अटो र मयुरीलाई व्यवस्थापन गर्न नखोजिएको हैन । निवर्तमान मेयर हरिबहादुर महतले सञ्चालन अनुमति नभएका अटोलाई नगर क्षेत्रभित्र चल्न नदिने निर्णय गरेपनि कार्यान्वयन गर्न सकेका थिएनन् । निश्चित पार्किङ क्षेत्र बनाउन उपमहानगरले नसकेपछि निर्णय कार्यान्वयन हुन सकेको थिएन् । हालको निर्णयपनि कार्यान्वयनमा शंका छ ।

नगरभित्र पार्किङ क्षेत्र निर्धारण गर्न जग्गा अभावकोे समस्यादेखि अटो, मयुरी, साना गाडी, मोटरसाइकलसम्मको अटेरीले निर्णय कार्यान्वयन गर्न उपमहानगरलाई चुनौती छ । प्रवक्ता न्यौपानेले पार्किङ क्षेत्रको तत्काल व्यवस्थापन गर्ने बताए । पार्किङ क्षेत्र तोक्नेदेखि अन्य स्थानीय तहमा परमिट लिएका अटोहरुलाई नगरको चार क्षेत्रमा (मुख्य बजार भन्दा बाहिर) निश्चित स्थान तोकेर त्यहाँसम्म आउन दिने उनले बताए ।

हेटौँडाको बजारी क्षेत्रको समस्या समाधान गर्न प्रदेशसभामासमेत सांसदहरूले आवाज उठाए पनि तत्कालिन प्रदेश सरकारले कुनै कदम अगाडि बढाउन सकेको थिएन । साँघुरा सडक फराकिलो बनाउनु पर्ने सांसदको माग भए पनि सरकारले बाइपास सडक निर्माण गर्ने निर्णय गरेर काम गरेको थियो । उक्त बाइपास सडकसमेत सञ्चालनमा छैन् ।

साभारः शिलापत्र