हेटौंडा । स्थानीय वन ऐन नियम समुदाय मैत्री बनाउने र प्रभावकारी कार्यान्वयनको लागि हेटौंडामा समन्वयात्मक वैठक भएको छ ।

हेटौंडा उपमहानगरपालिकाको सभाहलमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल र स्थानीय महासंघ हेटौंडा मकवानपुरको आयोजनामा वैठक भएको हो ।

कार्यक्रममा नीति नियमको कार्यान्वयनमा स्थानीय तहले अधिकार प्राप्त गरे कि गरेनन् भन्ने बिषयमा समेत छलफल भएको थियो । वन ऐन नीति नियम समुदाय मैत्री बनाउने र प्रभावकारी बनाउनको लागि समन्वयात्मक बैठक बसेको हो । बैठकमा सहभागी स्थानीय वन उपभोक्ता समितिका पदाधिकारीहरुले वनका ऐन नियम परिवर्तन गरी काठ तथा वन्य सामाग्रीको उपयोगमा नागरिकहरुलाई सहजता प्रदान गर्नुपर्ने बताए ।

कार्यक्रममा फेकोफनकी कानून अधिकृत अन्जु न्यौपानेले सामुदायिक वन अधिकार सुनिश्चिततता कार्यक्रम वन ऐनको समिक्षा बिषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा स्थानीय वन ऐन निर्माण कार्यान्वयनको तहमा संशोधन, संघीय र प्रदेश वन ऐन वारे छलफल भएको थियो ।

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाको प्रमुख आतिथ्यता तथा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल मकवानपुरका अध्यक्ष साधुराम चौलागाईको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा गैसस महासंघ बागमती प्रदेश अध्यक्ष आरती पाठक, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल बागमती प्रदेश सचिवालय सदस्य रामहरी चौलागाई, स्थानीय महासंघ, गढीका अध्यक्ष बलराम अधिकारी, सञ्चारकर्मी, जिल्लामा रहेका सामुदायिक वनका अध्यक्ष एवम प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।