हेटौंडा । एक दर्जन युवाको जमात आइतवार साँझ करिव ४ बजेतिर हेटौंडा उपमहानगरपालिका वडा नं. ४ मा रहेको पशुपति मन्दिर पुगेपछि यहाँ चहलपहल सुरु भयो । युवाहरु कोही हातमा झाडु, कोही पानीको पाईप, सरसफाइ गर्ने सरफ सहितको केमिकल लिएर मन्दिर सरसफाईमा भिड्न थाले ।
उनीहरु आइपुगेको केही मिनेटमै हेटौंडा उपमहानगरपालिकाबाट पानीको दमकल पनि आईपुग्यो । युवाहरुले सुरु गरेको सरसफाई अभियानमा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले पनि साथ दिइन् । उनले हेटौंडा उपमहानगरपालिकाबाट हुन सक्ने सहयोग स्वरुप पानीको दमकल सहित मन्दिर सरसफाई गर्न सहयोग पु¥याएकी हुन् । अहिले हेटौंडा उपमहानगरपालिकामा सफा हेटौंडा अभियान पनि जारी छ ।
स्वतन्त्र युवा दिपेन्द्र चन्द ठकुरी सहितको टिमले मन्दिर सरसफाईमा सकेको जति लागे र काम पनि गरे । उनीहरुले मन्दिर बरिपरि रहेका झार सरसफाई, फोहर व्यवस्थापन गरे । मन्दिर परिसरमा रहेका चराचुरुङगीहरुले बिष्ट्याएको फोहर सफा गर्न नगरपालिकाबाट ल्याईएको पानीको दमकलको सहयोगमा फोहर सफा गरियो । स्वतन्त्र युवाहरुको टिमले पालैपालो पानीको फोहराले मन्दिरको छाना, दायाबाया तथा भुई क्षेत्रमा रहेको फोहर पखाल्ने काम समेत गरे । टिमका सक्रिय युवा दिनेश वाईवा सहितले जोखिम उठाएरै भ¥याङको सहायताले मन्दिरको छानाको दायाबायाँ भ्याए सम्म चराचुरिङगीले बिष्ट्याएको फोहर पखाल्ने काम गरे ।
भोली साउन ३० गते साउन महिनाको अन्तिम सोमवार पनि हो । अन्तिम सोमवार भएकाले यहाँ भक्तजनहरुको भिड् पनि लाग्ने गरेको छ । मन्दिर परिसरमा रहेको दियो तथा प्यालाहरु पनि युवाहरुले सरसफाई गरेका छन् । भक्तजनलाई दियो बाल्न तथा आरती गर्न सहज होस् भनेर यहाँ पनि सफाई गरिएको थियो ।
मन्दिर परिसर सरसफाई भएपछि यहाँका गुरु तथा गुरुआमा पनि खुसी भएका थिए । उनीहरुले युवाहरुमा यस्तो भाव प्रकट हुनु भोलेनाथ कै कृपा भएको उल्लेख समेत गरेका छन् । उनीहरुले भोली बिहान भक्तजनहरुको घुईचो लाग्ने भएकाले मन्दिर परिसरमा स्वयंम सेवकको भूमिका निर्वाह गरिदिन युवाहरुलाई आग्रह गरेका छन् ।
साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा–आराधना गरेमा मनोकाङ्क्षा पूरा भई सुख, शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वास छ । विवाहित महिलाले पतिको दीर्घायु तथा अविवाहित महिलाले सुयोग्य वर प्राप्तिको कामनाले यो व्रत साउनको पहिलो सोमबारदेखि नै व्रत बसी शिवको पूजा–आराधना गर्नेहरुले अन्तिम सोमवार गोदान, पूर्णपात्रलगायत धार्मिक कर्म गरी व्रत समापन गर्छन् ।
सरसफाई कार्यक्रममा दिपेन्द्र चन्द ठकुरी, दिनेश वाइवा लामा, रमेश ठकुरी, दादाराज सेडाई, मदन देउला, पुजन कार्की, राजु कँडेल, सुमन मोक्तान, लेखनाथ ढकाल, यम चौलागाई लगायतका युवाहरुको सहभागिता रहेको थियो ।
स्वतन्त्र युवाहरुको समुहले यसअघि पनि सामाजिक बिकृति, बिसंगक्तिको बिषयमा आवाज उठाउँदै आएको छ । समुहले हेटौंडा अस्पतालको सेवा सुधार, सामुदायिक तथा निजि बिद्यालयको अवस्था, सडक सुधार, सार्वजनिक चासोका बिषयमा आवाज उठाउँदै आएको छ ।












प्रतिक्रिया दिनुहोस्