काठमाण्डौँ। नेपाल सरकार र बेलायत सरकारबीच स्वास्थ्यकर्मीलाई बेलायतमा रोजगारी विषयमा द्विपक्षीय श्रम सम्झौता भएको छ । सोमबार राजधानीमा एक कार्यक्रमकाबीच सम्झौता पत्रमा नेपालका तर्फबाट श्रम सचिव एकनारायण अर्याल र बेलायत सरकारका तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गरेका हुन् ।

बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली स्वास्थ्यकर्मी (नर्स)लाई रोजगारी प्रदान गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरको पनि उपस्थिति थियो ।

समझदारीबाट नेपाली स्वास्थ्यकर्मीहरुलाई विधिसम्मत तवरले बेलायतको स्वास्थ्य क्षेत्रको रोजगारीमा सहज संलग्न हुने वातावरण तयार हुने एवम् नेपाली स्वास्थ्य क्षेत्रमा संलग्न जनशक्तिको विकासमा समेत मद्दत पुग्ने विश्वास लिइएको छ ।

यसका अतिरिक्त बेलायतको स्वास्थ्य सेवामा कार्यरत रहँदा नेपाली स्वास्थ्यकर्मीको सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मी सरह हुने व्यवस्था मिलाइएको छ । नेपाली स्वास्थ्यकर्मीको छनौट, पदस्थापन र सेवा सुविधा सम्बन्धी मापदण्ड हाल छलफलका क्रममा रहेको र कार्यान्वयन ढाँचा (इम्प्लिमेन्टेसन प्रोटोकल) बमोजिम हुने मन्त्रालयले जनाएको छ ।