हेटौंडा । डेङ्गु परीक्षण गर्ने किट सकिएर हेटौंडा अस्पतालमा डेङ्गु परीक्षण रोकिएको छ । अस्पतालमा किट सकिएर बिहीबारदेखि डेङ्गु परीक्षण रोकिएको हेटौंडा अस्पतालका मेडिकल सुपरिटेन्डेन (मेसु) डा. रामचन्द्र सापकोटाले जनकारी दिए ।

स्वास्थ्य कार्यालयले डेङ्गु परीक्षण गर्न किट उपलब्ध गराउने गरेको डा. सापकोटाले बाताए । उनले भने, “हामीसँग किट किन्न बजेट हुँदैन हामीलाई स्वास्थ्य कार्यालयले जति डेङ्गु किट उपलब्ध गराउँछ हामी त्यति नै परीक्षण गरिदिन्छौं ।” स्वास्थ्य कार्यालयले डेङ्गु किट नदिएकाले अहिले अस्पतालमा डेङ्गु परीक्षण रोकिएको डा. सापकोटा बताए ।

हेटौंडा अस्पतालमा साउनदेखि हालसम्म ३ हजार ७१ जनाको डेङ्गु परीक्षण भएकोमा एक सय ३७ जनामा डेङ्गु पुष्टी भएको अस्पतालका ल्याब इन्चार्ज सारु हुसेनले जानकारी दिए । मन्त्रालयको आपूर्ति शाखाले किट उपलब्ध गराउने गरेको सारुले बताए । दैनिकजसो ५० देखि ७० जनाले डेङ्गु परीक्षण गराउने गरेको बताउँदै हाल ति बिरामीलाई फर्काउन अस्पताल बाध्य भएको हुसेनले बताए ।

मन्त्रालयको आपूर्तिमा डेङ्गु किट सकिएकाले अस्पतालमा दिन नसकिएको जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिए । मन्त्रालयले आफुसँग भएको किट दिएको छ, अहिले डेङ्गु संक्रमित बढेकाले किटको अभाव भएको उनले बताए । मन्त्रालयले किट खरिद गरेर राखेको तर महामारी फैलिएकाले किटको अभाव भएको बताउँदै आपूर्ति शाखाले किट माग गरेको बताए ।

मन्त्रालयसँग किट खरिदका लागि धेरै बजेट नहुने बताउँदै स्थानीय सरकारसँग किट खरिदका लागि बजेट भएको बताए । मन्त्रालयको आपूर्ति शाखाले खरिद प्रक्रिया अगाडि बढाएको र ५ हजार किट माग गरेको बताउँदै अहिले आवश्यकता पूर्तिका लागि ४–५ सय किट आउने बताए ।
समृद्ध समाजबाट साभार