हेटौंडा । बागमती प्रदेशसभाको सार्वजनिक लेखा समितिले हेटौंडा औद्योगिक क्षेत्रमा वधशाला सञ्चालनका लागि दिइएको अनुदान दुरुपयोग भएको ठहर गर्दै तत्काल असुल गर्न निर्देशन दिएको छ । बफेलो क्वालिटी फुड प्रालिले वधशाला सञ्चालन गर्न भन्दै संघ सरकारको सशर्ततर्फ ६२ लाख रुपैयाँ अनुदान लिएकोमा सो रकम दुरुपयोग भएको ठहर गर्दै समितिले रकम असुलउपर गर्न निर्देशन दिएको हो ।

सार्वजनिक लेखा समितिले उक्त वधशालाको नाममा अनुदान दुरुपयोग भएको भन्ने गुनासो बढेपछि अनुगमनका लागि उपसमिति निर्माण गरी छानबिन गरेको थियो । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट उक्त वधशाला सञ्चालनका लागि गरिएको सम्झौता लगायतको कागजात झिकाई उपसमितिले केही समय अघि स्थलगत अनुगमनसमेत गरेको थियो ।

उपसमितिले समितिमा पठाएको अनुसन्धान प्रतिवेदनका आधारमा समितिले अनुदान दुरुपयोग भएको ठहर गरी अनुदान रकम असुलउपर गर्नुपर्ने निर्णय गरेको समिति सदस्य तथा सांसद रमेश पौड्यालले जानकारी दिए ।

समितिका सदस्य पौडेलसहित, उपसमितिको संयोजक मुनु सिग्देल लगायतको टोलीले वधशालाको अनुगमन गर्दा वधशाला नै भत्काउँदै गरेको अवस्थामा फेला पारिएको थियो । संघीय सरकारमार्फत सशर्ततर्फबाट वधशाला सञ्चालनका लागि अनुदान लिएर सञ्चालकले सो वधशालाका मेसिनलगायत त्यहाँका भवन तथा अन्य संरचना स्कर्याबमा बिक्री गरिसकेका थिए । वधशाला खोज्न गएको उक्त उपसमितिको टोलीले वधशाला खोलिएको भनिएको स्थानमा घाँसे मैदान र भत्किएका भवन हेरेर फर्किएपछि अनुदान दुरुपयोग भएको निष्कर्षमा पुगेको हो ।

बफेलो फुडले २०७६ साउनमा तत्कालीन भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसँग हेटौंडा औद्योगिक क्षेत्रमा वधशाला सञ्चालन गर्ने भन्दै अनुदान लिन सम्झौता गरेको थियो । बफेलो क्वालिटी फुड प्रा.लि. र मन्त्रालयबीच २०७६ जेठ १६ गते अनुदानबाट सञ्चालित वधशाला निर्माणको सम्झौता भएको थियो ।

सम्झौता अनुसार वधशाला सञ्चालनको लागत इस्टिमेटका आधारमा कुल लागत रकमको बढीमा ५० प्रतिशत भुक्तानी हुने भनिएको छ । बफेलो क्वालिटी फुडले १ करोड ३१ लाख १९ हजार ५२४ रुपैयाँको सञ्चालन खर्च पेस गरेपछि ६२ लाख २२ हजार ५ सय रुपैयाँ अनुदान पाएको थियो । रातोपाटी बाट