हेटौंडा । विभिन्न प्रलोभनमा भारत पुगेका १० जना बालबालिकाको उद्धार गरि अभिभावकको जिम्मा लगाइएको छ । उद्धार गरेका बालकहरु मध्य ८ जना रौतहट, १ जना सिराहा र १ जना मोरङका रहेका छन ।

बालकहरु ६ देखि ८ महिना पहिले विभिन्न प्रलोभनमा परि चिनजानका आफन्तहरुबाट नै भारत पुगेका थिए । उनीहरुलाई मुम्बइको नागपाडा क्षेत्रमा रहेको व्याग पसलमा बालश्रम गरिरहेको अवस्थामा मिसन रेसक्यू अपरेशन इन्डियाले भारतीय प्रहरीको सहायतामा गत अगस्टमा उद्धार गरेको थियो ।

१७ वर्ष मुनिका बालबालिहरुलाई १२ देखि १८ घण्टासम्म काममा लगाउने र काम गरे बापतको पैसा नदिने गरेका रौतहटका १२ वर्षिय रहिम सोकात अलि मन्सारीले बताए । ४ महिना अघि देखि घरमा खबर नगरि सम्पर्क विहीन भएको छोरालाई खोजि गर्दै भारत सम्म पुगेका अभिभावक सौगात अली छोरालाईलाई भेट्दा खुसी लागेको बताउँछन ।

सामुदायिक विकास तथा सचेतना नेपाल, मकवानपुर, राष्ट्रिय बाल अधिकार परिषद र हिंसा विरुद्ध काम गर्दै आएको संस्था साथसाथको सहयोग तथा समन्वयमा मिसन रेसक्यू अपरेशन इन्डियाले रक्सौल हुँदै बिरगंज सम्म ल्याएको हो । उनीहरुलाई अभिभावकहरुलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्साको सभाहलमा कार्यक्रम आयेजना गरि अभिभावकको जिम्मा लगाएको सामुदायिक विकास तथा सचेतना नेपालका सचिव अनन्त बानियाँले बताए ।

राष्ट्रिय बाल अधिकार परिषद मधेस प्रदेसका सञ्जिव महत्तोले पैसा कमाएर ल्याउछ भन्ने प्रलोभनमा परेर कम उमेरका बालबालिकाहरुलाई काममा नपठाउन आग्रह गर्दै अभिभावहरुलाई प्रतिबद्धता गराएका थिए ।