हेटौंडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको मर्म र भावनालाई अक्षरस: पालना गर्दै कार्यावयन गर्नु सबैको दायित्व भएको बताएका छन ।

संविधान दिवस २०७९ को शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरी जारी गरिएको संविधानको मर्म र भावनालाई अक्षरसःपालना गर्दै त्यसको कार्यान्वयन गर्नु हामी सबैको दायित्व भएको बताए ।

प्रमुख शर्माले आफ्नो शुभकामना सन्देशमा नेपाली जनताको संघर्ष, त्याग र बलिदानपछि संविधान जारी भएको २०७२ असोज ३ लाई ऐतिहासिक दिवसको रुपमा स्मरण गरिरहेको उल्लेख गरे । ‘नेपालको स्वतन्त्रता,सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली मजबुत बनाउनका लागि संविधान जारी भएको सुखद् दिनका रुपमा ‘संविधान दिवस’ मनाउने गर्दछौं ।’ प्रमुखको शुभकामना सन्देशमा भनिएको छ ।

शर्माले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सविधानसभाबाट संविधान पारित भएकोमा गौरवबोध गरिएको बताउनुभएको छ । उहाँले यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि भएका विभिन्न आन्दोलनको क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने नेपाल आमाका वीर सन्तानप्रति उच्च सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धान्जली समेत अर्पण गरे ।

उनले संविधानवादको सिद्धान्तलाई अंगिकार गरी संविधान कार्यान्वयनको सवालमा देखा परेका चुनौती सामना गर्न तत्पर रहनु आजको आवश्यकता भएको जोड दिदै यस दिवसले संविधानले परिकल्पना गरेको महान लक्ष्य प्राप्तिका लागि मन¸वचन र कर्मले समर्पित रहन हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरे ।