हेटौंडा । संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरको भीमफेदी कारागारमा कैद भुक्तान गरिरहेका २३ जना कैदीबन्दीलाई माफी दिएकी छिन् ।

कारागारमा ५० प्रतिशत र ४० प्रतिशत कैद भुक्तान गरिसकेका र असल आचारण भएका २३ जना कैदीबन्दीलाई माफी गरिएको भीमफेदी कारागारका जेलर शाखा अधिकृत मदन लामा थिङले जानकारी दिए ।

तोकिएको कैद सजायमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका १६ जना र ४० प्रतिशत कैद भुुक्तान गरिसकेका असल आचारण भएका ९ जनाको गरी २५ जनाको नाम सिफारिस गरेकोमा २३ जना छुट्ने चिठी आएको उनले बताए ।

यस्तै, भीमफेदी कारागारका दुई जना कैदीबन्दीले आम माफी पाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा असल आचारण भएका र कैद भुक्तान पुरा हुन केही समय बाँकी रहेको दुई जनालाई आम माफी दिएकी छिन । मन्त्रि परिषद्को भदौ ३१ को निर्णयअनुसार आज सोमबारदेखि लागु हुने गरी आममाफी दिइएको हो ।