हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका छाडा (सामुदायिक) र घर पालुवा कुकुरको बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप लगाउने शिविर हेटौंडामा भएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाको आयोजनामा असोज ७ गतेदेखि ९ गतेसम्म नगरपालिका भित्रका छाडा (सामुदायिक) र घरमा पालेका कुकुरहरूको बन्ध्याकरण र खोप लगाउने शिविर भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका प्रमुख डाक्टर बज्र किशोर ठाकुरले जानकारी दिए । छाडा कुकुर नियन्त्रण तथा व्यवस्थापनको लागि कुकुर बन्ध्याकरण गरिएको ठाकुरले बताए । प्रमुख ठाकुरले बन्ध्याकरणले छाडा कुकुरको जनसङ्ख्या घटाउन र कुकुरकै कारण बढ्ने सडक दुर्घटनामा कमी ल्याउने अपेक्षा गरिएको बताए ।

छाडा कुकुरको ज्यादती नियन्त्रण गर्न यस्ता अभियान हरेक वर्ष सञ्चालन गर्ने योजना रहेको छ । कुकुरबाट लाग्ने रेबिज रोगलाई नियन्त्रण गर्ने उद्देश्यले यो कार्यक्रम संचालन गरिएको हो । बन्ध्याकरण गरिएको कुकुर मध्ये ४५ वटा सामुदायिक (छाडा) र ५ वटा घर पालुवा कुकुर तथा १२० वटा कुकुरलाई रेबिज विरुद्धको खोप पनि लगाइएको प्रमुख ठाकुरले जानकारी दिए ।

गत आर्थिक बर्षमा एक हजार २ सय कुकुरलाई रेविज विरुद्धको खोप लगाइएको थियो भने यस आवको साउनदेखि असोजसम्म ४ सय कुकुरलाई खोप लगाएको कार्यालयको तथ्याङक छ । असोज ६ गतेदेखि संचालन भएको रेबिज बिरुद्धको खोप कार्यक्रम असोज १२ गतेसम्म संचालन हुनेछ । विश्व रेबिज दिवस २०७९ को सप्ताहव्यापी कार्यक्रम भेटेनरी अस्पताल तथा १० वटै पालिकामा संचालित रहेको छ ।

नेपाल सरकारको सन् २०३० सम्म कुकुरको टोकाइबाट हुने रेबिज उन्मुलन गर्ने कार्यलाई मध्यनजर गर्दै कुकुरलाई रेबिज विरुद्धको भ्याक्सिन दिएको हो । कुकुरको सङ्ख्यामा न्यूनीकरण गर्नको लागि बन्ध्याकरण र रेबिजबाट बच्न रेबिज विरुद्धको भ्याक्सिन दिइएको थियो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाको आयोजना, केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वर काठमाडौँको प्राविधिक सहयोगमा कुकुरको बन्ध्याकरण र रेबिज विरुद्धको खोप लगाउने लगाइएको कार्यालयले जनाएको छ ।

बन्ध्याकरण र खोप लगाइएका कुकुरको देब्रे पट्टीको कानमा काटेर चिन्ह लगाउने गरिएको भेटेरिनरी समुह हेटौंडाका टेक्निसियन मोहित कुमार साहले जानकारी दिए । कुनै कुकुरले टोकिहाल्यो भने उक्त चिन्हले कुकुरमा खोप लगाएको र बन्ध्याकरण गरेको थाहा पाउन सजिलो होस भनी चिन्ह लगाइएको हो ।

सञ्चालित उक्त शिविरमा ३ जना सर्जनको टिमले कुकुरको अप्रेसन गरेका थिए । सामुदायिक (छाडा) कुकुरलाई समातेर ल्याउनको लागि हेटौंडाको भेटेरिनरी एम्बुलेन्सको समेत व्यवस्था मिलाइएको थियो । हेटौंडा बजार क्षेत्रमा अहिले एक हजार भन्दा बढी संख्यामा छाडा कुकुर रहेको अनुमान छ ।