कास्की । वैदेशिक रोजगारीबाट फर्केर एक युवाले होटल व्यवसाय सुरु गरेका छन । गण्डकी प्रदेश कास्की जिल्ला माछापुच्छ्रे  गाउँपालिका वडा नम्बर ९ सिदिङ भिमजुङ (पोखरा) का वासुदेव गौतमले होटल व्यवसाय गरेका हुन ।

उनी वैदेशिक रोजगारीको क्रममा २००४ मा कतार पुगेका थिए । ५ बर्ष कतारको होम साइडमा बिताएका उनले सिसी कम्पनीमा काम गरेका थिए । गाउँमै ऋण गरेर उनी रोजगारीका लागि कतार पुगेका थिए । पहिलो पटक बैदेशिक रोजगारीमा गएको अनुभव सुनाउँदै उनले गाउँकै दाई मार्फत एक लाख रुपियाँ बुझाएर गएको बताए । सप्लाई गर्ने कम्पनीको स्टोरमा काम गरेको बताउँदै गौतमले दलाले ठगेको बताए । गाउँका अन्य साथीभाई गएको लहलहैमा लागेर बिदेश गईयो, न सिप थियो, न भाषा, उनले थपे सुरुमा दुःख पाईयो ।

सुरुवातमा ४ सय ५० रियालमा काम गर्न थालेका गौंतमले कम्पनी छाडेर नेपाल आउँदा ७ सय ५० रियाल अन्तिम तलब बुझेको अनुभव सुनाए । आठ घण्टा डियुटी हुन्थ्यो, गौतमले भने बाँकी ४ घण्टा सधैं ओभरटाइम गर्थे । एउटा कोठामा ४ जना मिलेर बसेका थियौं, खान र बस्ने सुबिधा भने कम्पनीले नै दिएको थियो । पहिलो पटक ३ रियाल तलबमा बढेर आउँदा धेरै खुसी भएको उनको अनुभव छ ।

उनी २०१४ मा पुनः कतारै गए, तर उनी ६ महिनामै फर्किए । यस पटक पनि उनी दलालको फन्दामा परे, सम्झौंतामा उनलाई गार्डेनमा काम गर्ने भनेर लगिएको थियो, कतार पुगेपछि उनलाई लेभरमा हालेपछि उनी ६ महिनामै नेपाल फर्किए । उनले त्यहाँ दुःख पाए । उनी नेपाल फर्केपछि अब कहिल्यै बिदेश नजाने निधोमा पुगे, अनि उनले सुरुवात गरे होटल व्यवसाय । उनलाई होटल व्यवसायमा परिवारले पुरै साथ दिएको छ । धर्मपत्नी सिता गौतमले व्यवसाय संचालनमा हात बटाएकी छिन ।

गौतमले आफ्नै जग्गामा सुपर भ्यू गेष्ट हाउस एण्ड रेष्टुरेन्ट होटल संचालन गरेका हुन । करिव ३५ लाख लगानीमा उनले ७ वटा कोठा सहितको सुबिधा सम्पन्न होटल खोलेका छन । उनले व्यवसाय सुरु गरेको ४ बर्ष बितिसकेको बताउँदै होटल खोल्दा लागेको खर्च सबै तिरेको बताए । उनले यहाँ प्याकेजमा प्रतिदिन एकहजारदेखि १२ सय सम्ममा खान बस्न सकिने जानकारी दिए । उनले होटलमा बस्नेहरुलाई पोखरा लेकसाइड सम्म जाने गाडिको व्यवस्था समेत होटलले नै मिलाईदिने बताए । हाइक्याम्प, वादल डाडा, लो क्याम्प हुदै सिदिङ आउने तथा पोखराबाट गाडिमा सिदिङ आएर मार्दी हिमाल ट्रेकिङमा जानेलाई खाने, बस्ने र सवारी साधन राख्ने व्यवस्था समेत मिलाइएको गौतमले जानकारी दिए ।

यहाँ आन्तरिक पर्यटकहरु चितवन, पोखरा, काठमाडौं, हेटौंडा र बाह्य पर्यटकहरु अमेरिका, फ्रान्स, रुस, इजरायल लगायतका देशहरुबाट आउने गरेका छन । असोज, कार्तिक र मंसिर तथा फागुन, चैत, बैशाख र जेष्ठ महिना यस स्थानको लागि सिजन भएको उनले जानकारी दिए । बिशेषतः दशैंको बिदामा यहाँ आन्तरिक पर्यटकहरु बढी आउने गरेका छन ।

अनिल पराजुली
थप जानकारी