रोशन दाहाल

नदीको तटमा बसेर मसिना ढुंगा टिप्दै पानीमा फालिरहेको रहेछु । अकस्मात तरंगित पानीमा रातो हल्लिरहेको देखेँ । झसंग भएँ, पछाडि फर्केर हेरेँ, भीक्षु रहेछन् । तिनै भीक्षु, जसले हिजो प्रवचन दिएका थिए । सायद उनी एकान्त खोज्दै आएका थिए होला ।

म झस्केको भीक्षुलाई कुरा गर्ने बाटो खुलेछ क्यारे ।

सोधिहाले, ‘कहाँ हराउनुभएको थियो ?’

मैले सोच्दै नसोची उत्तर दिएँ, ‘अँ, त्यत्तिकै बसिराख्या ।’

उनी मेरो नजिकै बसे । म नदीतिर ध्यान केन्दि्रत गर्ने प्रयासमा थिएँ । भीक्षुसँग बोल्ने शब्दै आइरहेको थिएन । अध्यात्मका कुरा मलाई त्यति थाहा थिएन । अरू गफ गरेर कुनै फाइदै थिएन । कर्मकाण्डका त उनीहरू विरोधी नै थिए ।

उनी पनि नदीतर्फ हेर्न थाले । म उनीतर्फ । फेरि उनले मलाई हेरे । म नदीतर्फ हेर्न थालेँ ।

मेरो असजिलो थाहा पाएछन् जस्तो छ । यसपटक उनले नदीमात्रै हेरिरहे । मैले उनलाई हेरिरहेँ ।

उनले चिबर लगाएका थिए । कपाल थिएन । त्यस्तै, ३५ का देखिन्थे । अनुहार धपक्क बलेको थियो । हाँसिरहेका थिएनन् । प्राकृतिक रूपमै हँसिला थिए । उनका सबै अंग शान्त थिए- आँखा, हात-खुट्टा, शरीर सबै ।

बसिरहेका थिए । शरीर चलमलाइरहेको थिएन । मेरोजस्तो गरेर । मजस्तो ढाड बङ्ग्याएर बसेका पनि थिएनन् । सीधा थिए ।

म हेदैँ थिएँ । नदीमा हेर्दै छन् भनेको त उनी त आँखा पो चिम्लन थाले ।

निदाउन लागेजस्तो लाग्यो ।

मैले हेर्न छोडिनँ । एकछिन बित्यो, भीक्षुले आँखा खोलेनन् । ढाड बङ्ग्याएनन्, शरीर पनि चलाएनन् ।
म बसिरहेँ । सुनसान लागिरहेको थियो । भीक्षुको मौनताले अझै शून्यता थपेको थियो । नदी बगिरहे पनि कुनै आवाज आइरहेको थिएन । आवाज थियो त कीराहरूको मात्रै । चराहरूको मात्रै ।
फेरि केही समय बित्यो । उनको आँखा खुल्ने छाँटकाँटै देखिएन ।

मैले एक्कासि उनको ध्यान भंग गरिदिएँ, ‘तपाईंको आनन्द सधैँ कायम रहन्छ ?’

उनले बिस्तारै आँखा खोले, रिसाएनन् । उल्टो मुसुक्क हाँसे, दाँत नदेखाई । भने, ‘बिल्कुलै रहन्छ ।’

मैले कुनै तर्क नलगाई एकैपटक अनुरोध गरेँ, ‘मलाई पनि सिकाइदिनुहोस् न । म पनि आनन्द चाहन्छु । सधैँ कायम रहने ।’

एकछिन मलाई हेरे उनले । सायद मेरो अवस्था हेर्दै थिए । मैले सोधेको प्रश्न कस्तो प्रकारको हो विचार गरेका होलान् ।

हुन पनि मानिसले विभिन्न आसयले प्रश्न सोध्ने गर्छन् । कसैले आफूलाई माथि पार्न प्रश्न गर्छन् । कसैले अरूलाई होच्याउन प्रश्न गर्छन् । यस्ता मानिसले आफूलाई तर्कबाट जिताउन खोज्छन् । कसै-कसैले मात्रै जिज्ञासु भएर प्रश्न सोध्छन् ।

सायद त्यही विचार गर्दै थिए होलान् । अथवा मेरो हैसियत जाँच्दै पनि हुन सक्छन् ।

उनैले बोल्न सुरु गरे, ‘जब कोही तनाव झेल्न नसक्ने अवस्थामा पुग्छ, त्यसपछि उसले आनन्द खोज्न थाल्छ ।’

मौन थिएँ म । उनले आनन्द आउने बाटो बताऊन् भन्ने मनसायका साथ उनलाई एकटकले हेरिरहेको थिएँ ।

हुन त, हिजोको प्रवचनमा उनले धेरै कुरा बताइसकेका थिए । तर म तृप्त हुन सकिरहेको थिइनँ । अझै केही जान्न चाहिरहेको थिएँ । सायद तुरुन्तै आनन्द खोजिरहेको थिएँ ।

केही समय मौनता छायो ।

उनैले मौनता भंग गरे, ‘आनन्द प्राप्त गर्ने सूत्र हुन्छ ।’

‘सूत्र !’ मलाई निकै अचम्म लाग्यो । पहिलोपटक सुन्दै थिएँ, आनन्द आउने सूत्र हुन्छ भनेर ।

सूत्रबारे थाहा त थियो, व्याकरणका सूत्र । लघु-सिद्धान्त कौमुदीका सूत्र । जसमा सूत्रहरू दिइएका हुन्छन् । तिनै सूत्र प्रयोग गरेर शब्दलाई टुक्रा-टुक्रा पार्दै फेरि जोड्नुपर्ने हुन्छ ।

तर, ती व्याकरणका सूत्रले मेरो टुक्रा-टुक्रा भएको जीवनलाई जोड्न सकेनन् । छरिएको मनलाई एकै स्थानमा ल्याउन सकेनन् । कहिल्यै पनि ।

भीक्षुले जीवन बदल्ने सूत्र बताउँदै थिएँ । म त्यसलाई व्याकरणको सूत्रमा लगेर जोड्दै थिएँ ।
मलाई फेरि तुरुन्तै याद आयो, ‘आत्मज्ञान प्राप्त गरेर ।’

‘आत्मज्ञान प्राप्त गर्ने सूत्र त मलाई कहाँ थाहा छ र ?’ तुरुन्तै मनको अर्को एउटा कुनाले प्रतिक्रिया दियो ।

आफूले जे जान्ोको छ त्यही याद आउने त हो नि ! मलाई पनि जे थाहा थियो, त्यही याद आयो ।

‘गुरुवर बुद्धले सरल तरिकाले आनन्द प्राप्त गर्ने सूत्र दिनुभएको छ,’ उनले प्रस्ट्याए ।

मलाई जे थाहा थियो, बीचैमा भनिदिएँ, ‘आत्मज्ञान प्राप्त गरेर ।’

‘गुरुदेवले आत्माको धारणालाई दर्शनसम्बन्धी बन्धन मान्नुहुन्छ । साँचो ज्ञानका लागि यस बन्धनलाई तोड्नु आवश्यक छ । नष्ट गर्नु आवश्यक छ,’ उनले आत्माविरोधी कुरा गरे ।

प्रत्यक्षरूपमा म पहिलोपटक आत्माबारे विरोधी कुरा सुन्दै थिएँ ।

‘आत्मज्ञान मानिसको लक्ष्य हो । शरीर मरे पनि आत्मा मर्दैन । अजर-अमर हुन्छ,’ आदि-आदि कुराहरू सुन्दै आएको थिएँ आजसम्म ।

प्रायः आस्तिक गुरुहरूले आत्माको व्याख्या गर्ने गर्थे । आत्मा मान्नेहरूमा पनि भिन्नता थियो । एकथरी आत्मालाई रूपी, शान्त, अनन्त तथा नित्य मान्थे ।

अर्कोथरी त्यही आत्मालाई अरूपी, शान्त, अनन्त तथा अनित्य मान्थे ।

‘त्यसो भए कसरी पीडाबाट मुक्ति पाउने त ? आनन्द पाउने त ?’ अब मलाई उनीबाट उत्तर आउने खासै आशा थिएन । तैपनि सोधेको थिएँ ।

‘अविद्या र तृष्णाको कारण मानिसले दुःख पाउँछ । ऊ भवचक्रमा रुमल्लिन्छ,’ उनले अर्कै तरिकाले मानिसको अस्तित्वलाई व्याख्या गर्न खोजिरहेका थिए ।

मलाई उनीभन्दा मैँ जान्नेछु जस्तो लाग्यो ।

मैले वार्ता छोट्याउन चाहेँ, ‘आनन्दको सूत्र के हो त ?’

सायद मेरो मनसाय उनले बुझेछन् ।

अनुरोध गरे, ‘केही समय मलाई सबै कुरा व्यक्त गर्न दिनुहोस् । त्यसपछि तपाईं बोल्नुहोला ।’
‘हुन्छ’ उनको आग्रहलाई स्वीकार गर्दै बोल्न बन्द गरेँ मैले ।

उनले सुरु गरे, ‘मानिसमा तीन प्रकारका दुःख हुन्छन् । पहिलो प्रकारको दुःख क्षणिक हुन्छ । जुन केही समय रहन्छ र गइहाल्छ । यस्तो खालको दुःख पानीमा खिचिएको रेखाजस्तै हो । मेटिइहाल्ने ।

अर्को खालको दुःख केही समय रहन्छ । बालुवामा खिचेको रेखाजस्तै ।

तेस्रो खालको दुःख लामो समयसम्म रहन्छ । ढुंगामा खिचेको रेखाजस्तै ।

यही तेस्रो प्रकारको दुःखले मानिसलाई भवचक्रमा लिएर जान्छ । यस्तो हुनुको कारण त्यस्तो खालको दुःखप्रति राग-द्वेष जाग्नाले हो । मनको गहिराइमा दबिएका घटना, जसलाई बिर्सन गाह्रो हुन्छ तिनलाई जब याद गरिन्छ, तिनीहरूप्रति राम्रो वा नराम्रो भाव आइरहेको हुन्छ । यस्तो भाव घट्नुको सट्टा झन् थपिँदै जान्छ । यसैले मानिसलाई पुनर्जन्मका लागि बाध्य पार्छ ।

साभारः अनलाइन खबर

(रोशन दाहालको उपन्यास काँचुलीको अंश । यसलाई मञ्जरी प्रकाशनले बजारमा ल्याएको हो ।)