हेटौंडा। कैलाश गाउँपालिका वडा नम्बर ८ स्थित भार्ताको आङ्पीमा पहिलोपटक बिजुली पुगेको छ । बिजुली बत्ती झलमल्ल बलेपछि गाउँमा खुशियाली छाएको छ । बिजुली पुगेपछि यहाँका ७५ घर लाभान्वित भएका छन् ।

बिहीबार गाउँपालिका अध्यक्ष लोक बहादुर मुक्तानले ट्रान्सफर्मरमा जडान गरिएको बत्ति बालेर बिजुली उद्घाटन गरेका थिए । उनले आफ्नो कार्यकाल अवधिमैं कैलाशका सबै वडामा बिजुली बत्ती पुर्‍ याउने प्रतिबद्धता जनाए ।

‘बर्षा, रातदिन केही नभनि वितरणको कामलाई हाम्रो टिमले निरन्तरता दियो । यसैको परिणाम हो ढिलैभए पनि आज गाउँमा उज्यालो छाएको छ ।’ उनले भने – ‘हामी यो कार्यलाई निरन्तरता दिँदै कैलाशलाई हाम्रै पालामा उज्यालो गाउँपालिका बनाउनेछौं ।’

कैलाश गाउँपालिकाका वडा नम्वर ३, ४, ७ र ८ का करिब ७० प्रतिशत घरमा अझैपनि बिजुली पुगेको छैन । नेपाल विद्युत प्राधिकरणसँगको सहकार्यमा बत्ती नबलेका घरमा बिजुली पुर्‍याउन पालिकाले निरन्तर काम गर्ने अध्यक्ष मुक्तानले बताए ।

गाउँपालिका उपाध्यक्ष बालकुमार मल्लले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर विकासका कामलाई तिव्रता दिइने बताए । टुकीको भरमा जीवन निर्वाह गरिरहेका यहाँका स्थानीयका लागि बिजुली आएपछि धेरै राहत मिल्ने उनको भनाई छ । उद्घाटन कार्यक्रममा ८ नम्वर वडाध्यक्ष आशिष प्रजा, पुर्ववडाध्यक्ष सुर्यबहादुर थिङ, वडा सदस्य विपिराज थिङ लगायतका उपस्थित थिए ।