हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ५ र ७ न्युरेनी को सिमाना पर्ने नागदह कर्रा खोलामा शुक्रबार अपरान्ह पौडी खेल्ने क्रममा बेपत्ता भएका तीनै जनाको शनाखत भएको छ ।

शुक्रबार अपरान्ह ५ः३० बजेको आसपासमा ४ जना पौडी खेल्न खोलामा हामफालेका तीन जना बालक बेपत्ता भएका थिए । पानीमा डुवेको अवस्थामा उनीहरुलाई सशस्त्र प्रहरी र सेनाको टोलीले फेला पारेको हो । डुबेर मृत्यु हुनेमा हेटौंडा–१५ फारलाइनका १७ बर्षीय शाहिल लामा, १२ बर्षीय कार्साङ जिम्बा र १३ बर्षीय संजिब मोक्तान रहेको जनाइएको छ ।

मृतकहरुसँगै खोलामा पसेका हेटौंडा ८ का १२ बर्षीय रियान्स माझी भने तैरिएर बाहिर निस्किएका थिए । माझीले नै स्थानीयलाई खबर गरेका थिए । जानकारी पाए लगत्तै वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखराबाट प्रहरी निरीक्षक केशर कुमार न्यौपानेको टोली घटनास्थल पुगेको थियो । शव पोस्टमार्टमका लागि हेटौंडा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रष्ट खबरबाट