हेटौंडा । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको बिषयमा घोषणा पत्रमा समेट्न दलहरुलाई अनुरोध गरिएको छ । हेटौंडामा आयोजना भएको कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले राजनीतिक दलहरुलाई घोषणा पत्रमा समेट्न अनुरोध गरेका हुन् ।

यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले भोगिरहेका समस्या र समुदायको अधिकार प्राप्तीका लागि भइरहेका कामहरुको विषयमा हेटौंडामा पत्रकारहरुसँग अन्तरक्रिया गरिएको छ । यौनिक तथा लैङ्गिक अल्पसंख्यकको अधिकारको लागि वकालत गरिरहेको संस्था ब्लु डाइमण्ड सोसाइटी र फ्रेन्ड्स् हेटौंडाको आयोजनामा भएको अन्तरक्रियामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक अधिकारकर्मीहरुले आफूहरुको अधिकार प्राप्तीको आन्दोलनमा पत्रकारहरुको साथ र सहयोगको अपेक्षा गरेका छन् । संविधानमा उल्लेख भएका अधिकारहरु पनि आफूहरुले प्राप्त गर्न नसकेको भन्दै संविधानअनुसार कानुन निर्माण गर्न तथा राजनीतिक दलहरुमा दबाब सिर्जना गर्न पत्रकार र पत्रकारिता क्षेत्रले भूमिका निर्वाह गर्न आग्रह गरिएको थियो ।

कार्यक्रममा ब्लु डाइमण्ड सोसाइटीका कार्यक्रम संयोजक पिटर तामाङले संविधानले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका नागरिकहरूलाई समेत समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक दिएको भएता पनि सो अनुरुप कानुन निर्माण नभएको कारण आफूहरुले अधिकार प्राप्तीबाट बञ्चित हुनुपरेको गुनासो गरिन् । लैङ्गिक पहिचानमा ‘अन्य भनेर नागरिकता लिएका यौनिक तथा लैङ्गिक अल्पसंख्यकले आम निर्वाचनमा उम्मेदवार नै हुन नपाउने अवस्था रहेको यथार्थ खुलाइन् ।

संविधानले नै हरेक नागरिकतालाई लैंगिक अधिकार सुनिश्चित गरिदिएको भएता पनि निर्वाचन आयोग भने ‘अन्य’ लिङ्गबाट नागरिकता लिएकाहरुलाई भने उम्मेदवार नै बन्न रोक लगाएको भन्दै अधिकारकर्मी तामाङले गुनासो गरिन् । संविधानमा उल्लेख गरिएको अल्पसंख्यकको परिभाषामा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायलाई समेटिनुपर्ने र कानुनमा पनि सो विषय स्पष्ट उल्लेख गर्न राज्यलाई पत्रकारले दबाब सिर्जना गराउनुपर्ने ब्लु डाइमण्ड सोसाइटी हेटौंडाका कार्यक्रम संयोजक किरण थापाले बताइन् ।

पत्रकारिता क्षेत्रको सचेतनामुलक प्रचार प्रसारका कारण यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार प्राप्तीमा बल पुगेको थापाले स्मरण गरिन् । नेपालका राजनीतिक दलहरुले आफ्नो विधान तथा घोषणा पत्रका यौनिक तथा लैङ्गिक अल्पसंख्यकको विषयमा कतै पनि सम्बोधन नगरेको भन्दै दुःख व्यक्त गरिन् ।

कार्यक्रममा बोल्दै समाज मकवानपुर संयोजक किरण थापाले नेपालको राजनितिमा विभिन्न ठुला दलहरुले आफ्नो विधान तथा घोषणा पत्रका यौनिक तथा लैङ्गिक अल्पसंख्यकको बारे कहीँ कतै उल्लेख नभएकोमा दुख व्यक्त गरिन् । उनले संचारकर्मीहरुले समाचार लेख्दा वा सफलताको कथा लेख्दा शब्द चयनमा ख्याल गर्न आग्रह गरेकी छिन् । लेख्नुपर्ने शब्द र लेख्न नहुने शब्दबारे जानकारी दिदैं राईले यौनिक तथा लैङ्गिक अल्पसंख्यकको मकवानपुरको अवस्थाबारे जानकारी गराइकी थिइन् ।

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको रोजगार, गाँसबाँस कपास, स्वास्थ्य र शिक्षामा समान अवसरका लागि सबैले ध्यान केन्द्रित गर्नुपर्ने कार्यक्रममा सहभागीहरुले बताएका थिए । मकवानपुर जिल्लामा ५ हजार जना लैङ्गिक तथा अल्पसंख्यक रहेका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, निवर्तमान अध्यक्ष हरि हुमागाई, महासंघ कोषाध्यक्ष केशव समर्पण, प्रेस युनियन मकवानपुरका अध्यक्ष पोष्टराज अधिकारीलगायतकाको उपस्थिति रहेको थियो ।