

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिकामा रहेको भिमफेदी कारागारका कैदीबन्दीलाई बकैया गाउँपालिकाले नगद २५ हजार रुपियाँ सहयोग गरेको छ ।
नजिकिदै गरेको चाडपर्वहरु वडा दशैं, तिहार र छठ पर्व मनाउन कारागारका कैदीबन्दीहरुलाई गाउँपालिकाले आर्थिक सहयोग गरेको हो । बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेले कारागार पुगेर आर्थिक सहयोग रकम हस्तान्तरण गरेका थिए । उनले आगामी दिनमा पनि कारागारका कैदीबन्दीहरुलाई सहयोग गर्ने बचनबद्धता जनाए । अध्यक्ष लामिछानेले भिमफेदी कारागारका निमित्त कार्यालय प्रमुख मदन लामा थिङलाई नगद हस्तान्तरण गरेका थिए ।
मकवानपुर जिल्लाका करिव ७० प्रतिशत कैदीबन्दी भिमफेदी कारागारमा रहेका छन् । कारागारमा कर्तव्य ज्यान, लागु औषध, मानव बेचबिखन, डाँका, चोरी, अपहरण तथा शरीर बन्धक, हातहतियार तथा खरखजाना, जबरजस्ती करणी, ज्यान मार्ने उद्योग, बहु विवाह, बैकिङ कसुर लगायतका मुद्दामा स्वदेशी तथा विदेशी थुनुवा र कैदीहरुले सजाय भोगिरहेका छन् ।
आज शुक्रबार भिमफेदी कारागारमा ९ सय ९९ जना कैदीबन्दीहरु रहेको भिमफेदी कारागारको तथ्याङक छ । जसमा ब्लक क मा ५ सय ५५ जना र ब्लक ख मा ४ सय ४४ जना रहेको चौकीदार सन्देश कालाखेतीले जानकारी दिए । ‘विभिन्न सजाय भोगिरहेका व्यक्तिले पनि दशै पर्व मनाउनु पर्छ ।’ चौकिदार कालाखेतीले भने –‘बकैया गाउँपालिकाको सहयोगले केही राहत भएको छ ।’ चाडपर्व मनाउनका निम्ति अन्य सरोकारवाला निकायलाई पनि सहयोगको लागि उनले आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्