

हेटौंडा । आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरमा स्थापना गरिएको छ ।
हेटौंडा–२ स्थित मुख्यमन्त्री कार्यालयसँगै रहेको पुरानो जिल्ला विकास समितिको भवनमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौला,क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत मुकुन्दहरी पौडेल,जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान र मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डेले संयुक्त रुपमा कार्यालयको उदघाटन गरेका थिए ।
कार्यालय उद्घाटन पश्चात मुख्य निर्वाचन अधिकृत निरौंलाले निर्वाचनलाई भयरहित बनाउन जिल्लाका राजनीतिक दल र सुरक्षा निकायसँग समन्वय गरेर अगाडि बढ्ने बताए । संविधानको पूर्णरुपमा कार्यान्वनयका लागि निर्वाचनको महत्व रहेको उनको भनाइ छ ।
कार्यक्रममा निर्वाचन आयोग वागमती प्रदेश कार्यालयका प्रमुख लुम्बनाथ पोखरेल, मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतम, अन्य सुरक्षा प्रमुख तथा मकवानपुरका विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । मकवानपुर जिल्लामा प्रतिनिधिसभाको दुईवटा र प्रदेशसभाका चारवटा निर्वाचन क्षेत्र रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्