वैवाहिक जीवनपछि सन्तान प्राप्त गर्ने चाहना सबैको हुन सक्छ। तर, केही दम्पत्तीलाई बाँझोपनका कारण सन्तान लाभ हुँदैन। केही समयअघिसम्म हाम्रो समाजले बाँझोपनको सबै दोष महिलालाई मात्र दिन्थ्यो। तर, अब समय फेरिएको छ। बाँझोपन रोग हो र यो पुरुष या महिला जसलाई पनि हुन सक्छ भन्ने चेतना बिस्तार हुँदै गएको छ। एक वर्षसम्म नियमित शारीरिक सम्बन्धमा रहेर पनि गर्भ रहन नसक्नुलाई बाँझोपन भन्ने गरिन्छ। बाँझोपन हुनुका विभिन्न कारण हुन सक्छन्। यहाँ भने पुरुषमा हुने एक प्रकारको बाँझोपन बारे जानकारी दिन खोजिएको छ।

पुरुषहरुको अण्डकोषमा शुक्रकीट नबन्नु वा वीर्यमा शुक्रकीट नआउनुलाई ‘एजोस्पर्मिया’ भनिन्छ। एजोस्पर्मिया भएको हो वा होइन भन्ने थाहा पाउन वीर्य परीक्षण गर्नुपर्ने हुन्छ। वीर्य परीक्षणबाट शुक्रकीट भए/नभएको वा शुक्रकीट बन्ने प्रक्रियामा हुने गडबडीबारे पत्ता लगाउन सकिन्छ। सामान्यतया शुक्रकीट नबन्नु वा शुक्रकीट ननिस्कनु भनेको नै बाँझोपन हुनु हो। कसैकसैको अण्डकोषले शुक्रकीट उत्पादन नगरेको हुन सक्छ भने कसैको शुक्रकीट बने पनि निस्कने क्रममा अवरोध भएको हुन सक्छ।

एजोस्पर्मिया दुई किसिमको हुन्छ। एउटा अवरोधजन्य र अर्को अवरोध नहुँदाको अवस्था।

वीर्यनलीमा हुने अवरोध

वीर्यनलीमा विभिन्न कारणले अवरोध आएको हुन सक्छ। वीर्यनलीमा संक्रमणका कारण अवरोध आएको हुन सक्छ भने केहीमा जन्मजात वीर्यनलीमा अवरोध हुन्छ। केही व्यक्तिमा भने शल्याक्रियाका कारण पनि यस्तो समस्या देखिन्छ। विभिन्न समस्याका कारण लिंगको शल्यक्रिया गरिएको छ भने पछि गएर त्यसले वीर्य निस्किने नलीमा नै अवरोध ल्याउन सक्छ।

बाँझोपनको अर्को कारण भनेको ‘भ्यासेक्टोमी’ पनि हो। भ्यासेक्टोमी गर्नु भनेको वीर्यनलीमा अवरोध ल्याउनु हो। भ्यासेक्टोमी गरेका तर पछि बच्चाको चाहाना भएर भ्यासेक्टोमी खोल्दा वीर्यनली अवरोध भई शुक्रकीट बाहिर ननिस्कन सक्छ। यसरी अवरोध भएको वीर्यनलीलाई शल्याक्रियाबाट खोल्न सकिन्छ। तर, शतप्रतिशत सफल हुन्छ भन्न सकिँदैन।

वीर्यनलीमा अवरोध नहुँदाका समस्या

वीर्यनलीमा अवरोध हुँदा मात्रै होइन अवरोध नहुँदा पनि विभिन्न कारणले शुक्रकीट नबनेको हुन सक्छ। कहिलेकाहीँ अण्डकोषमा हुने संक्रमणका कारण शुक्रकीट बन्ने प्रक्रिया खलबिलिएको हुनसक्छ। अण्डकोषभित्र हुने संक्रमणले शुक्रकीट बन्ने प्रक्रियामा अवरोध पुर्‍याउन सक्छ। बिरामीलाई क्यान्सर भएपछि दिइने केमोथेरापी, रेडियोथेरापीका कारण पनि अण्डकोषमा शुक्रकीट बन्ने क्रम रोकिन सक्छ। केमोथेरापी र रेडियोथेरापी गर्दा प्रवाह हुने विभिन्न रेडियसनको असरले शुक्रकीट नबन्ने हुन सक्छ।

यस्तै, लामो समयसम्म गर्मीमा काम गर्नेहरुमा पनि शुक्रकीट बन्ने प्रक्रियामा गडबडी आउने गर्छ। तर, शुक्रकीट बन्न नसक्नुका ९० प्रतिशत कारण भने पत्ता लाग्दैनन्। यस्ता समस्या केही समयका लागि वा कुनै रोग विशेषले भएको छ भने औषधि उपचार गरेर ठिक गर्न सकिन्छ। तर, जन्मजात वा दीर्घकालीन समस्या भएकाहरुमा भने औषधि उपचारले काम नगर्न पनि सक्छ। यस्ता व्यक्तिलाई बच्चाको चाहना भएमा आइभिएफ (इन्भिट्रो फर्टिलाइजेसन) गर्न सकिन्छ। त्यसमा पनि शुक्रकीटले काम गरेन भने शुक्रकीट दान गर्नेहरुबाट शुक्रकीट लिनुपर्ने हुन्छ।

युरोलोजिस्ट डा सुवोध रेग्मी,स्वास्थ्य खबर