हेटाैडा । मकवानपुरमा रहेर क्रियाशील महिला साहित्यकार र साहित्यसेवीहरुको संस्था आँचल साहित्य कला पुञ्ज, मकवानपुरले पत्रकार राममणि दाहाललाई सम्मान गरेको छ।

संस्थाले शनिबार मकवानपुरका पत्रकार दाहाललाई ईश्वर लम्साल स्मृति पत्रकारिता सम्मान गरेको हो।  कार्यक्रममा बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले पत्रकारिता पुरस्कार दाहाललाई सम्मानपत्रसहित प्रदान गरे ।

आँचल साहित्य कला पुञ्ज, मकवानपुरका संस्थापक उपाध्यक्ष स्वर्गीय अप्सरा तिम्सिनाले आफ्नो ससुराबुबाको नाममा स्थापना स्थापना गर्नुभएको पुरस्कार २०७५ सालबाट मकवानपुरको पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने पत्रकारलाई प्रदान गरिँदै आएको छ।

एक  लाख रुपियाँ अक्षय कोषको ब्याजबाट प्रदान गरिने सो पुरस्कारको राशी सात हजार पाँच सय रुपियाँ रहेको छ। यस्तै कार्यक्रममा अप्सरा तिम्सिना लम्साल स्मृति साहित्य सम्मानबाट प्राज्ञ माया ठकुरी, आँचल सम्मानबाट मुक्ति गोविन्द वैद्य, प्रतिभा धिताल छन्द सम्मानबाट टीका आत्रेय र टीकादत्त- मायादेवी- कुलकुमारी साहित्य पुरस्कार माधव पोख्रेल सम्मानित भए।

साथै बालकुमारी-जगन्नाथ भेटवाल साहित्यक सम्मान बबी थापालाई, सुन्तलीमाया श्रेष्ठ युवा पुरस्कार सम्मान विष्णुबहादुर विश्वकर्मालाई, वनस्खण्डी खड्ग पौडेल प्रतिभा सम्मान ओमभक्त भण्डारीलाई, मुक्ति-तारा नवप्रतिभा सम्मान कृतिका लौडारीलाई र मङ्गलादेवी श्रेष्ठ बालप्रतिभा पुरस्कार समर्पण न्यौपानेलाई प्रदान गरिएको छ।