काठमाडौं । एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गते शुक्रबारदेखि फागुन २ गते मंगलबारसम्म आईपीओ निष्काशन खुला गरेको छ ।

कम्पनीले प्रतिकित्ता रू एक सय अङ्कित दरमा छ लाख ९७ हजार दुई सय कित्ता आईपीओ निष्काशन खुला गरेको हो ।

कम्पनीले जारी पुँजी रू ३४ करोडको २४ दशमलव ७१ प्रतिशतले हुने रू आठ करोड ४० लाख मूल्य बराबरको कूल आठ लाख ४० कित्ता साधारण शेयर सर्वसाधारण, वैदेशिक रोजगारीमा रहेका नेपाली सामूहिक लगानी कोष तथा कर्मचारीमा छुट्याएको थियो । जसमा ८४ हजार कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपाली र ४२ हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ ।

त्यस्तै १६ हजार आठ सय कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी छ लाख ९७ हजार दुई सय कित्ता साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिएको कम्पनीले जनाएको छ ।

सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ६७ हजार ७ सयले १०–१० कित्ताका दरले पाउने बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

कम्पनीले इलामको माई जोगमाई गाउँपालिका र इलाम नगरपालिकाको जोगमाई खोलामा छ दशमलव दुई मेगावाट क्षमताको तल्लो जोगमाई खोला जलविद्युत् आयोजना निर्माण गरेको छ ।