हेटाैडा । मकवानपुर जिल्लाको महत्त्वपूर्ण मकवानपुरगढी दरबारको जीर्णोद्धार सुरु गरिएको छ। ऐतिहासिक महत्त्वको मकवानपुरगढी दरबार सामान्य मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएपछि पुरातत्त्व विभागले जीर्णोद्धार सुरु गरेको हो।

मकवानपुरगढी दरबार परिसरमा रहेको श्रीकृष्णको मन्दिरको पश्चिमतर्फ र पूर्वतर्फ रहेको दरबारको भग्नावशेषको मर्मतसम्भार गरिने भएको छ। मकवानपुरगढी गाउँपालिका–२ का वडाध्यक्ष बखानसिंह पाख्रिनले मन्दिरको पश्चिमतर्फ रहेको भवनको जीर्णोद्वारसहित छानासमेत हाल्ने योजना रहेको जानकारी दिनुभयो। चालू आर्थिक वर्षको रकमबाट भवनको मर्मत तथा संरक्षण गरिनेछ, उहाँले भन्नुभयो।

आगामी आर्थिक वर्षमा बजेट व्यवस्था गरी छानासमेत हाल्ने योजना बनाइएको छ, पुरानै शैलीमा मर्मत तथा संरक्षणको काम हुनेछ। एक करोड १८ लाख ४३ हजार ९२३ रुपियाँको लागतमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको छ।

मन्दिरको पूर्वतर्फ रहेको गढी दरबारको भग्नावशेषको यथास्थितिमा नै जीर्णोद्धारसहित मर्मत तथा संरक्षण गरिने भएको छ। उहाँले मन्दिरको पूर्वतर्फ रहेको गढी दरबारमा छाना लगाउने काम नहुने बताउँदै गढी दरबार प्रवेश गर्ने द्वारअगाडि रहेको काठको पुल चालू आवको बजेटबाट चौडा गरिने बताउनुभयो। दरबार प्रवेशद्वारभन्दा काठको पुल सानो रहेकोले प्रवेशद्वार बराबर नै पुल चौडा बनाइने भएको छ।  गाेरखापत्रबाट