एजेन्सी । फेसबुकको मातृ कम्पनी मेटाले पुनः १० हजार कर्मचारी कटौती गर्ने भएको छ । गएको नोभेम्बरमा ११ हजार कर्मचारीलाई कामबाट निकालेको फेसबुकसहित इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटाले पुनः १० हजार कर्मचारी कटौती गर्ने बताएको बीबीसीले जनाएको छ ।

मेटाले अहिले रिक्त रहेका पाँच हजार दरबन्दी पनि तत्काल पूर्ति नगर्ने बताएको छ । मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले कर्मचारीलाई पठाएको सूचनामा सन् २०२२ मा कम्पनीको आम्दानी घटेको र अहिले स्थिति झनै खराब भएकाले कर्मचारी कटौती गर्नुपरेको बताउनुभएको छ ।

प्रमुख कार्यकारी जुकरबर्गले अमेरिकामा बढेको ब्याजदर, विश्वव्यापी भूराजनीतिक अस्थिरतालगायतका कारणले मेटाको आम्दानी घटेको बताउनुभएको बीबीसीले जनाएको छ । कम्पनीको बिग्रँदो आर्थिक स्थिति अझै लामो समय रहने देखिएकोले आवश्यक तयारी थालेको उहाँको भनाइ छ ।

पछिल्लो समय अमेजन, गुगल, ट्विटरलगायतका प्रविधि कम्पनीहरूले कर्मचारी कटौती गरिरहेका छन् ।