हेटौंडा । बागमती प्रदेशभित्र तामाङ र नेवारी भाषालाई पनि सरकारी कामकाजको भाषा बनाउन भाषा सम्बन्धि कानून निर्माण गरिने भएकाे छ ।

शुक्रबार काठमाण्डौंमा बसेको तामाङ/नेवारी(नेपाल भाषा) कार्यान्वयन तयारी सम्बन्धि समितिको बैठकले प्रदेशभित्र सरकारी कामकाजको भाषा नेपालीसँगै तामाङ र नेवारी भाषा कार्यान्वयन गर्न एक महिनाभित्र ऐन निर्माण गर्ने निर्णय भएको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताइन् ।

‘तत्कालका लागि हामीले प्रदेश भित्र सबैभन्दा बढी बोलिने भाषा तामाङ र नेवार भाषालाई कामकाजको भाषा बनाउन लागेका हौं।’ उनले भनिन्, ‘प्रदेशमा अरु थुप्रै भाषा छन्। हामी कानून बनाउँदा जहाँ जुन भाषाको बाहुल्यता छ त्यँहा त्यहि भाषालाई कामकाजको भाषा बनाउने गरि बनाउँछौं।’

स्थानीय तहहरुले समेत आफ्नो ठाउँमा बोलिने भाषालाई सरकारी कामकाजको भाषा बनाउन मिल्नेगरि कानून बन्ने मोक्तानको भनाइ छ । आउँदो वैशाख महिनाभित्र भाषा सम्बन्धि विधेयक संसदमा पेश गरिने उनले जानकारी दिइन्।

प्रदेश सरकारले एक महिनाअघि बागमती प्रदेशमा तामाङ र नेवार भाषाालाई कामकाजको भाषा बनाउन सामाजिक विकास मन्त्री मोक्तानको अध्यक्षतामा समितिको निर्माण गरेको थियो । समितमा श्रम रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठसँगै दुई जना विज्ञ डा. गणेश योन्जन र ओमकार्यश्वर श्रेष्ठ सदस्य छन् ।