हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नं. ५ कर्मचुलीमा रहेको कर्मप्राप्ति माध्यामिक विद्यालयमा विगत २२ बर्षदेखि शुक्र बहादुर बिश्वकर्मा निरन्तर शिक्षण पेशा मार्फत बिद्यार्थीलाई उज्यालो छरिरहेका छन । सुख, सुविधा र शहरमुखी सबै कुरा छाडेर आफ्नै गाउँमा रहेको बिद्यालयमा निरन्तर सेवा गरिरहेका हुन । आफ्नै गाउँको बिद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गर्ने हेतुले यही पेशामा आफु निरन्तर रहेको उनको भनाई छ ।

२०५७ सालमा नेपाली शिक्षकका रुपमा उनी शिक्षण पेशामा आवद्ध भएका थिए । जीर्ण र पुरानो भवन रहेको यस बिद्यालयमा २०७२ सालको भूकम्पले भत्कीएपछि अहिले यहाँ पक्की भवनहरु बनेका छन भने बिद्यार्थीका लागि लाइबेरी, विज्ञान प्रयोगशाला, कम्प्युटर प्रयोगशाला र स्मार्ट शिक्षण बिधिबाट अध्यापन भईरहेको छ ।

एक विद्यालय एक नर्सका कारण अहिले बिद्यालयमा बिद्यार्थीलाई समस्या पर्दा नर्सले बिद्यालयमै स्वास्थ्य सेवा दिने गरेको उनले बताए । शैक्षिक उपलब्धीमा आधारित शैक्षिक विकास कार्यक्रममा पनि यस विद्यालय पहिलो नम्बरमा छानिएको शिक्षक शुक्रको भनाई छ ।

शिक्षा नै सबैभन्दा ठुलो कुरा हो, उनले थपे मानिसले चेतनाको विकास ठिक ढंगले गर्न नसके सामाजिक विकास पनि नहुने बताए । सामाजिक विकासको राम्रो आधार शिक्षा हो, त्यसैले शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर विकास गर्नुपर्नेमा उनले जोड दिए ।