हेटौंडा । मकवानपुरमा विगत एक हप्तादेखि सिमेन्ट उद्योगहरूका खानी क्षेत्रबाट चुनढुंगा ओभरलोड बोकेर आएका टिपर नियन्त्रण गर्न ट्राफिक प्रहरी सक्रिय छ ।

हप्ता दिनअघि भने चुनढुंगा ओभरलोड बोक्ने टिपरहरूलाई प्रहरीले देखे नदेखेको गर्दै आइरहेको थियो । मकवानपुरमा बेलाबखत ओभरलोड बोकेका टिपरविरुद्ध आन्दोलन हुँदा प्रहरी सक्रिय हुने र केही समयपछि प्रहरीले खासै मतलब नगर्ने चलन पुरानै हो ।

तर, विगत एक हप्तादेखि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), मकवानपुरले ओभरलोड चुनढुंगा बोकेका टिपरलाई कारबाही गर्न प्रहरीलाई सचेत गराएपछि भने प्रहरी पनि सडकमा निरन्तर उत्रिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरकाअनुसार हप्ता दिनभित्र करिब १ सयवटा टिपर ओभरलोड चुनढुंगा बोकेका कारण कारबाहीमा परिसकेका छन् ।

रास्वपाले टिपरविरुद्धको आन्दोलन निरन्तर गरेपछि भने खानी क्षेत्रबाट चुनढुंगा उत्खनन् तथा ढुवानी गरिरहेका निर्माण कम्पनीहरू यतिबेला तनावमा छन् । हेटौँडास्थित ऋद्धिसिद्धि सिमेन्ट उद्योगले राक्सिराङ गाउँपालिका र शिवम् सिमेन्टले मकवानपुरगढी गाउँपालिकाको ७ र ८ नम्बर वडामा रहेका खानी क्षेत्रबाट चुनढुंगा उत्खनन् गरिरहेका छन् ।

दुवै सिमेन्ट उद्योगका लागि चुनढुंगा उत्खनन् र ढुवानीको जिम्मा लिएका बानियाँ निर्माण सेवा प्रालि, मोर्डन इन्फ्रास्टक्चर प्रालि, मोतिदान कन्ट्रक्सन प्रालि र बागमती विन्दाबासिनी कन्ट्रक्सन प्रालिले भने मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई शान्ति सुरक्षा र व्यवसाय गर्ने वातावरण बनाइदिन निवेदन पत्र लेखेका छन् । बानियाँ निर्माण सेवा नेपाली कांग्रेस बागमती प्रदेशसभा तथा प्रदेश सांसद इन्द्रबहादुर बानियाँको कम्पनी हो ।

सीडीओ पाण्डेलाई बुझाएको पत्रमा ठेकेदारहरूले मुख्यतः दुई वटा विषयलाई जोड दिएका छन् । पहिलो, शान्ति सुरक्षा माग गर्दै व्यवसाय गरी खान पाउनुपर्ने माग छ । दोस्रो, ओभरलोड बोक्ने टिपरलाई कारबाही गर्न आवाज उठाउने रास्वपा पार्टीलाई स्वार्थ समूहको आरोप लगाउँदै भौतिक कारबाहीसम्मको धम्की दिनु । पत्रमा स्वार्थ समूहले अनेक बाहना गरी खानीजन्य सामग्री ढुवानी गर्ने सवारीसाधनलाई अवरोध पुर्‍याएको आरोप छ । उनीहरूले स्वार्थ समूहले कानुन हातमा लिन खोजेको भन्दै जुनसुकै बेला मुठभेड हुन सक्ने भन्दै भौतिक कारबाहीको धम्की दिएका छन् ।

तर, ट्राफिक प्रहरीले भने कारबाहीमा परेका टिपरहरू कानुनविपरीत ओभरलोड बोकेकाले सजायको भागिदार भएको जनाएको छ । सीडीओलाई ठेकेदारहरूले लेखेको पत्रमा ओभरलोड बोक्न पाउनु पर्ने माग राखिएको रास्वपा मकवानपुरका सभापति भरत पुराजुली बताउँछन् । रास्वपाले सडक तथा मानववस्तीमा असुरक्षा भएकाले सरकारी मापदण्डअनुसार मात्रै चुनढुंगा उत्खनन् गर्न आवाज उठाएको पराजुलीले बताए ।

‘हामीले कसैसँग कमिशन मागेका छैनौँ, कसैसँग पैसा लिएका छैनौँ । टिपर चलाउ तर, ढाला बराबर मात्रै बोकेर भनेका छौँ,’ उनले भने, ‘कानुनअनुसार काम गर भन्दा मुठभेड गर्न आए प्रहरीले जवाफ देला ।’ मकवानपुरका निमित्त ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक सन्तोष पोख्रेलले भने रास्वपा पार्टीले भन्दा पहिला ट्राफिकले ओभरलोड बोक्ने टिपरमाथि कारबाही सुरु गरेको बताए । उनले कानुनअनुसार टिपरहरूले ढाला बराबर मात्रै ढुंगा बोक्न पाउने बताए ।

राक्सिराङको खानी क्षेत्रबाट आउने टिपरहरू हेटौँडा–११ थानाभर्‍याङमा रहेको ट्राफिक कार्यालय र जिल्ला प्रहरी कार्यालय हुँदै उद्योगमा पुग्ने गरेका छन् । प्रहरीले बाटोमै रोक्ने भएपछि टिपरहरू दुई दिनदेखि चलेको पोख्रेलले जानकारी दिए । निवेदनकर्ता मोतिदान कन्ट्रक्सनका सुकदेव गौतमले भने ढाला बराबर ढुंगा बोकेका टिपरहरूलाई अप्ठ्यारो परेको भन्दै सीडीओलाई पत्र लेखेको बताए । उनले निवेदनका विषयमा थप बोलेनन् । तर, प्रहरीले भने ढाला बराबर बोकेको टिपरलाई निर्वाध चल्न दिएको जनाएको छ । शिलापत्रबाट साभार