पृष्ठभूमि:

भौगोलिक हिसाबले हामी विश्वको मध्यम देशको रुपमा गणना भएपनि ( एसियाको २५ औ सानो र विश्वको ९५ औ  देश) जैविक बिबिधताको हिसाबले अन्य ठुला देशको तुलनामा धनि देशमा ( एसियाको ११ औ र विश्वको २५ औ धनि) पर्छौ  जुन प्रक्रितीले दिएको अद्भुत देन हो , नया नया प्रजाति पत्ता लाग्ने र केहि हराउने प्रकृतिको नियमानुसार भै रहन्छ तर भएका श्रोतको उचित संरक्षण र व्यवस्थापन हामीले गरिरहनु पर्ने हुन्छ l देशको कुल भूभागको ४४.७४ % वन क्षेत्र र २३.३९% संरक्षित क्षेत्र आफैमा अद्भुत संयोग हो l

बागमती प्रदेशको राजधानी हेटौडा रहेको मकवानपुर जिल्लाले ९ वटा छिमेकी जिल्लालाई छुन्छ l ९ वटा जिल्लाको सिमानालाई छुनु भनेको त्यहाको भूगोललाइ मात्र स्पर्श गर्नु होइन, यो भनेको ९ वटा जिल्लाको वन वाताबरण अनि जैविक विविधतालाईलाइ पनि स्पर्श गर्नु हो l यस हिसाबमा हामि मकवानपुरे पनि भाग्यमानी हौ l किन कि तल्लो भेगमा बारा र चुरेको वन अनि उत्तरी बेल्टमा काठमाडौँ, ललितपुरको वनक्षेत्र जहाँ फुलचोकी अनि चंद्रागीरिको हावापानी भूगोलको मिश्रण छ त्यसलाई छुन्छ l FRA ( forest Recourse Assessment) को पछिल्लो तथ्यांक अनुसार जिल्लाको कुल क्षेत्रफल २,४३,६४२ हेक्टर मध्ये वनक्षेत्रले १,६४,६११ हेक्टर (६७.५६% भू भाग ओगट्नु भएको आफैमा ठुलो उपलब्धि हो र यो देशको औषत भन्दा अधिक हो l

हाम्रो हेटौडा मकवानपुरको मात्र नभई बागमती प्रदेशको राजधानी समेत हुनाले यहाको वन वाताबरणको बारेमा हामि लगायत अन्यलाई चासो हुनु स्वाभाविक हो l FRA को तथ्यांक अनुसार हेटौडाको कुल भू भाग २६०.८४ ब कि मि मध्ये १२५.९३ ब कि मि क्षेत्र (४८.२८%) वन क्षेत्रले ओगटेको छ l नगर पालिकाभित्रका बिभिन्न वार्डमा वनको असमान वितरण रहेको छ जुन स्वाभाविक देखिन्छ l हेटौडा उपमहानगर बन्ने क्रममा थप भएका साबिकको चुरियामाई, पदमपोखरी (हालको वार्ड नम्बर १२, १३), बसामाडी गाबिस (हालको वार्ड नम्बर ३ र १९) मा तुलनात्मक रुपमा घना वनक्षेत्र देखिन्छ भने हेटौडाको मुख्य बजार र सघन घनत्व रहेको वार्ड नम्बर २, ४, ५ १० रहेको क्षेत्र र औधोगिक क्षेत्र रहेका वार्ड नम्बर ८ ७ र ९ मा कम वनक्षेत्र रहेको छ l तिब्रतम गतिले भै रहेको शहरीकरण, बढिरहेको औधोगीकरण, नयाबस्ति बिस्तारको क्रममा हुदै गइरहेको जग्गा प्लटिंग र अतिक्रमणले गर्दा वनक्षेत्र क्रमश खुम्चिदो अवस्थामा पुगेको छ l यधपी भएका वन क्षेत्रको सन्तोषजनक व्यवस्थापन देखिन्छ l बाँकी वार्डमा वनको अवस्था मध्यम रहेको छ l हेटौडामा लामो समयदेखि यहाको वनक्षेत्रलाई स्थानीय जनताद्वारा सामुदायिक वनको रुपमा व्यवस्थापन हुदै आएको छ l हामीसंग प्राप्त तथ्यांक अनुसार यहाको सामुदायिक वनको क्षेत्र निम्न अनुसार रहेको छ l

बनस्पति:

हेटौडा उपमहानगर पालिका भित्रको सबै प्रकारको वन र वनस्पतिको छुट्टै र व्यवस्थित अधययन छैन l अहिले सम्म बनस्पति कार्यालय र वन कार्यालयसंग भएको तथ्यांकको आधार नै मूल श्रोत हो l हेटौडाको मूल भाग पुर्व देखि पश्चिम फैलिएको र अधिकासं भाग भित्रिमधेश एवम चुरेक्षेत्र पर्ने हुनाले यहाको वनस्पतिमा यहि क्षेत्रमा हुने प्रजातिको बाहुल्यता छ l मुलत बहुमुल्य प्रजाति मानिने साल, खयर, अस्ना, सिसौ , सल्लो, चिउरी, छतिवन, दार लगायत छन् भने सतिसाल र बिजयसालको उपस्थिति (रोपण) पनि रहेको छ l जडिबुटीतर्फ सर्पगन्धा, कुरिलो, गुर्जो, अमला, हर्रो, बर्रो, तेजपात आदि मुख्य रहेका छन् l

चरामा धनि:

हेटौडा वरिपरी कति प्रकारको चरा पाइन्छ भनेर ठुलो अध्ययन भएको छैन तर वाइल्ड लाइफ फोटोग्राफर दृष्टान्त बिडारीले वन तथा वाताबरण मन्त्रालय बागमतीको सहकार्यमा राप्ती नदि वरिपरिको स्थान र आफ्नो स्व अध्ययन र खोजीको क्रममा २०७९ सम्म गरेको अधययन र अप्रकाशित तथ्यांक अनुसार हेटौडा आसपासका क्षेत्रमा २९० प्रजातिको चरा रेकर्ड भएको जनाएका छन् यो उल्ल्ख्य शंख्या र उत्साहजनक अवस्था हो l यसलाई आधार मानेर थप अध्ययन गर्ने हो भने हामीले अहिलेसम्म याद नगरिएको कुरा हेटौडालाइ एउटा चरा गन्तब्यको (Bird Watching Destination Point) रुपमा बिकाश गर्न सकिन्छ l उनका अनुसार हिउदे आगन्तुक चरा प्रजाति २६ रहेका छन् l यी मध्ये मुख्य खोयाहाँस (Bar headed goose ), मणितुण्डक (Goosanger), बेल्चाठूडें हाँस (Northen Shoveler), सिन्दुरे हाँस (Eurassian Wegio), सुइरोपुछ्रे (Northern Pintail),  डुबुल्कीचरा (Little Grebe), लामठूडे राजपुत्रिका (Long Billed Plover), जलेवा (Great Cormorant) आदि छन् l

यसै गरि पानिहांस (Waterfowls)  २० प्रजातिका छन l हिउदे आगन्तुक चरामध्ये बिश्वब्यापी रुपमा नै संकटमा परेको Globally Threatened species  गोमायु महाचील (steppe Eagle) , कैलोटाउके हाँस ( Common Pochard) पनि हेटौडामा आगन्तुक चराको रुपमा रहेका छन् l यसैगरि संकटको नजिक रहेको मानिएको हिमालि गिद्ध (  Himalayan Griffon Vulture), संरक्षित पन्छी कालो गरूड (Black Stork),  तिलहरी चरा (Ibisbill)) पनि यहाको हिउदमा आउने गरेको पाइएको छ l लामटांग उपत्यकाबाट कालो जुरेबाज (Black Baza), लोभीपापी गरूड(Asian wollyneck), ठूलो छिरबिरे माटीकोरे (Crested Kingfisher) , लामठूडे, (Long -billed plover), राजपुत्रिका (Long billed Pipit) आदि रहेका छन् l

हेटौडा वरिपरिको चरा अध्ययन एवं हेर्नको लागि माछाप्लानको पोखरी, बन बिज्ञान क्याम्पसको जंगल, राप्ती र कर्रा खोला, रानी सामुदायिक वन लगायत छन् l यसको लागि बर्ड वाचिंग रुटको खोजि गर्नु पर्ने र नक्सांकन सहित रुटको तय गर्नुपर्ने  देखिन्छ तर नदीको तिब्र दोहन, क्रसर उधोग, ढुंगा, गिट्टी, बालुवाको अत्यधिक संकलन, माछाको लागि विषादीको प्रयोग, चराको मुख्य आहारा माछा मान्छले खाइ दिने आदिले नदीमा आधारित चरा तिब्र संकटमा छन् l यसमा बिस्तृत अध्ययन गर्नुपर्ने छ l

हाम्रो सम्पति एवं दायित्व:

प्रकृतिले दिएको, राजनीतिक अवस्थाले अनुकुल बनाएको अनि हाम्रो मेहनतले आफ्नो छुट्टै प्रतिष्ठा बनाएको हेटौडामा प्रकृति क्षेत्रमा गर्नुपर्ने संरक्षणका काम धेरै छन् l यी मध्ये कयौ काम भएका उल्लेख्य रुपमा भएका छन, कतिपय काम प्रारम्भिक अवस्थामा छन् भने केहि कामको सुरुवात सुन्यबाट नै गर्नुपर्ने देखिन्छ तर जति हुनुपर्ने ति सबै नभएपनि हामि सन्तोषजनक अवस्थामा छौ र यसलाई अझ बुलन्द बनाउदै जानु पर्ने छ l

  • हरित शहर: हेटौडा नेपालको हरित सहरको नमुना मध्ये एक हो l यहाबाट प्रारम्भ भएको हरित अभियानलाइ अन्य पालिकाले अनुसरण गरेका छन् जुन हामी सबैले सन्तोष मान्नु पर्दछ l प्रारम्भमा हेटौडा बजारको मुख्यभागमा र क्रमश पछी अन्यत्र बाटोछेउमा रोपेका र संरक्षण गरिएको रुखबिरुवाले हेटौडाको स्वरूप नै बदलिएको छ l यधपी यी मध्ये बाटो बिस्तारको क्रममा नासिने सम्भावना भएतापनि आगामी दिनको लागि एउटा नमुना सिकाई हुनसक्दछ l साथै हेटौडाभित्र रहेको शहिद स्मारक, पाथिभरा (भैरव डाडा), वनसखण्डी क्षेत्र, सिसौघारी लाइ सहरी वनको रुपमा पनि बिकाश गर्न सकिन्छ l यी क्षेत्रलाई थप पूर्वाधार सहितको बिबिध काममा वन कार्यालय,सामुदायिक वन र अन्य साझेदार संस्थाको सहकार्यमा अगाडी बढाउन सकिन्छ l
  • एक घर, १० गमला: हेटौडामा तिब्रतम शहरीकरण हुदै गएको छ l बजार क्षेत्रमा अधिकांस घरवालासंग थोरै जग्गामात्र हुनु स्वाभाविक हो तर जग्गा कम भएपनि “एक घर, १० थान गमला सहितको बिरुवा रोपण” अभियान चलाउन सकिन्छ l यसमा अनुकुल भएमा कौसी तरकारी, कौसी बगैंचा बनाउने नगर पालिकाले केहि फूलका बिरुवा सुलभ मुल्यमा उपलब्ध गराउने र हरेक बर्ष गर्दैगएमा आगामी केहि बर्षमा हामि उत्कृष्ट फूलैफूलको सहरमा हुनेछौ l नगर पालिकाले घरजग्गाको नक्शा पास गर्दा अन्य सिफारिसमा यसलाई अनिवार्य रुपमा लागु गराउन सक्छ l
  • आफ्नै नर्सरी, आफ्नै प्राबिधिक: नगरपालिका क्षेत्रमा सौन्दर्यकरण गर्दा फूल एवं फलका बिरुवा उत्पादनको लागि अरुमा भरपर्नुको साटो आफैले नगर केन्द्रित गरेर कम्तिमा २ वटा नर्सरी स्थापना गर्ने हो भने सुलभ मुल्यमा बिरुवा उत्पादन र सहज वितरण गर्न सकिन्छ l साथै अन्य वनका काममा संयोजनको लागि एकजना वन प्राबिधिक राख्न सकिन्छ l
  • एक वार्ड कम्तिमा १ पार्क : बढिरहेको शहरीकरणलाइ ध्यान दिदै पालिकाले थुप्रै पार्क निर्माण गर्न सुरु गर्नुपर्ने देखिन्छ l सौभाग्यवश हामीसंग नगर वरिपरी सामुदायिक वन, केहि पार्क छन् तर कालान्तरमा यी अपुग हुनेछन तसर्थ जंगलको घनत्व कम भएका क्षेत्रमा वनको प्राकृतिक स्वरूप नबिगारीकन प्राकृतिक वनलाई बिभिन्न पार्क, बगैंचाको रुपमा बिकाश गर्नुपर्ने देखिन्छ l केहि स्थानमा एकै प्रजातिकोमात्र बगैंचा जस्तै गुलाफ पार्क, कमल पार्क, गोदावरी पार्क र यहाँ हुन् सक्ने अन्य महत्वपूर्ण प्रजाति र केहि स्थानमा मिश्रित पार्क बनाउन सकिन्छ l
  • स्वास्थयको लागि हाइकिंग: पछिल्लो पटक यूवा, बृद्धमाझ हाइकिंग गर्ने रुची, चाहनामा निकै वृद्धि भएको देखिन्छ l जनशंख्याको वृद्धिसंगै , स्वास्थयको सचेतना र हिड्नेडुल्ने बानीको बिकाश संगसंगै प्रभात र सायमकालिन भ्रमण निकै लोकप्रिय छ l हामीसंग हेटौडा वरिपरी यसको ठुलो सुबिधा उपलब्ध छ जुन कुरा नेपालको सबै सहरमा सहज उपलब्धता छैन l हेटौडा बजार- मनकामना क्षेत्र, बनसखण्डी  मन्दिर वरिपरिको क्षेत्र, पाथिभरा वरिपरी मन्दिर (भैरवडाडा-डांगडुगे-पुन्यक्षेत्र समेटेर) हेटौडा-सामरी पूल, राप्ती नदीको वरिपरी र वृन्दावन जोड्ने खण्ड, राप्ती र कर्रा खोलाको हरित करिडोर हेटौडा वरिपरिको लागि अत्यन्त उपयुक्त र फलदायी हाइकिंग क्षेत्र हुन् l यी क्षेत्रलाई नक्सांकन समेत गर्ने र होटल व्यवसायीसंग सहकार्य गर्ने गराउने हो भने यहाँ हुने आवासिय गोष्ठीमा आगन्तुकलाई यी स्थानको भ्रमण गराउन सकिन्छ र हेटौडाको ब्यापार ब्यवसायलाई प्रवर्धनको लागि यो एउटा महत्वपूर्ण थप पुंजी हुनसक्छ l हेटौडा बजार भन्दा केहि पर रहेका थुप्रै यस्ता क्षेत्र छन् जहाँ वरिपरिका बिभिन्न स्थानलाई साना साना (२-३ घण्टा)  हाइकिंगका रुटको रुपमा बिस्तार गर्न सकिन्छ l वरिपरिका डाडालाइ दृश्यावलोकनका हिसाबले सानासाना गोल घर, बिश्रामगृह (अमिल्दो भ्यु टावर होइन) कफी हाउसको रुपमा बिकाश गर्न सकिन्छ l
  • चुरेको समस्या होइन समाधान खोजौ: हेटौडाको अधिकांस भाग चुरे तथा भित्रि मधेशले ओगटेको छ l यसको प्रष्ट संकेत भनेको भू गर्भिक हिसबले यो अत्यन्त कमजोर र सम्बेदनशील छ l बर्षातमा मात्र सक्रिय रहने दर्जनौ खहरे खोलाले हेटौडा को सौन्दर्य नराम्रोसंग छत बिछत पारेको देखिन्छ l हामिले मनकामना डाडा वा भैरव डाडाबाट हेर्ने हो भने वा यो क्षेत्रबाट जाने हवाई यात्राबाट हेरयौ भने यो हाम्रो हेटौडा हो र ? भन्ने अवस्था देखिन्छ l दर्जनौ खहरेहरु दक्षिणबाट उत्तरतर्फ आएका देखिन्छन जसले ठुलो भु क्षय , रुखबिरुवाको नोक्सानी र कयौ अवस्थामा मानवीय क्षति पुर्याएको छ l यो अत्यन्त चिन्ताको बिषय हो l यसलाई हामीले बेलैमा सम्बोधन नगर्ने हो भने कालान्तरमा यो हाम्रो ठुलो संकट हुनेछ l यहाँ बाँस, अम्रिसो, भेटिभर जस्ता प्रजाति रोपण र अन्य हरित तटबन्धनका काम गर्न सकिन्छ जसले खहरे नियन्त्रणको अलावा हरित बेल्टको काम गर्नेछ र केहि बर्षमा क्रमश यो एक गन्तब्य हुन् सक्छ l यसको लागि नगरपालिको मात्र श्रोत पर्याप्त हुदैन जसको लागि बिभिन्न सरकारी तथा गैरसरकारी निकायसंग समन्वय गर्नु पर्ने देखिन्छ l
  • पानि नै हो हाम्रो जिन्दगानी: चुरेको समस्यामा हामीले कालान्तरमा बेहोर्नु पर्ने अत्यन्त गम्भीर चुनौती भनेको प्राकृतिक अवस्थामा पानीको व्यवस्थापन हो जसलाई हामीले अहिलेसम्म ध्यान दिएका छैनौ l हामीले वरिपरी रहेका राप्ती, कर्रा, सामरी, कुख्रेनि खोलाको पानि देखेर ढुक्क छौ तर वाताबरनिय संकट, दिनदिनै घटिरहेको पानीको मात्रा र जमिन मुनिको घट्दो पानीको सतह, बढिरहेको जनशंख्या र बढीरहेको पानीको खपत, निर्माणाधीन व्यापारिक प्रतिस्ठान, व्यापारिक हब, बागमतीको केन्द्र, हेटौडा औधोगिक क्षेत्र र नया बन्दै गरेको औधोगिक क्षेत्रको कारणले ठुलो मात्रामा पानीको खपत हुने देखिन्छ l यसको लागि प्राकृतिक रुपमा पानीको पुनर्भरण गर्न सामुदायिक वन र सार्बजनिक क्षेत्रमा दर्जनौ रिचार्ज पोखरी बनाउनु पर्ने देखिन्छ l यसको लागि वन कार्यालय,कुलेखानी जलाधार कार्यालय, भू संरक्षण कार्यालय, सामुदयिक वनसंग समन्वय गर्ने मात्र हो भनेपनि ठुलो उपलब्धि हुन् सक्छ l
  • प्राकृतिक म्युजियम, जीवित पार्क: हेटौडालाइ ठुलो प्राकृतिक म्युजियमको रुपमा बिस्कः गर्न सकिन्छ l वन क्याम्पसमा रहेको प्राकृतिक म्युजीयम देशको ठुलो म्युजियम बन्न सकछ l यसमा पालिकाले क्याम्पससंग सहकार्य गरेर एक गन्तब्य बनाउन सक्छ l यसैगरि संघीय/प्रदेश सरकारको समन्वयमा नजिक रहेको कुनै सामुदायिक वनको व्यवस्थापनमा जूलोजीकल पार्क (Zoological Park) निर्माण गरेर प्रदेश राजधानीको लागि एउटा ठुलो सम्पतिको रुपमा बिकाश गर्न सकिन्छ l यसलाई पार्कमा मात्र सिमित नराखी एउटा अध्ययन केन्द्रको (फरेस्ट्री क्याम्पसलाइ समेत मध्यमा राखेर) रुपमा समेत बिकाश गर्न सकिन्छ l ब्रिन्दाबनमा रहेको बनस्पति उधानमा केहि लगानी गर्ने हो भने यो उधान देशको आकर्षण केन्द्र बन्न सक्छ l
  • गन्तब्य सालक: मकवानपुरको आफ्नो कुनै जनावरको पहिचान छैन, यधपी हामीसंग राष्ट्रिय निकुन्ज ऐन २०२९ ले संरक्षित वन्यजन्तुको रुपमा सुचिकृत गरेको “किसानको साथि” र “प्रकृतिको मित्र” को रुपमा परिचय बनाएको सालकको (Pangolin) राम्रो उपस्थिति थियो र अहिले पनि छ l नेपालमा पाइने २ प्रकारका सालक तामे सालक (Indian Pangolin) र कालो सालक (Chinese Pangolin) मध्ये हामीसंग दुइटा नै छन् र हेटौडा वरिपरिको सामुदायिक वनमा यसको राम्रो उपस्थिति छ l चुच्चेखोला, न्युरेनी, रानी,  सामुदायिक वनमा केहि अध्ययन भएता पनि अन्यत्र राम्रो अध्ययन हुन् पाएको छैन l यधपी सुन्दर सामुदायिक वनदेखि पुर्व, हर्नामाडी क्षेत्रका सामुदायिक वन, पर्सा राष्ट्रिय निकुन्जका मध्यवर्ती सामुदायिक वन र वार्ड नम्बर १९ र ११ का सामुदायिक वनमा राम्रो उपस्थिति देखिएको छ l सालकलाई मकवानपुरको गौरव प्राणीको रुपमा घोषणा गर्न माहोल बनाउने र हेटौडालाइ सालकको अध्ययन, अवलोकन गन्तब्य बिन्दुको रुपमा बिकाश गर्ने, पालिकामा र वार्ड कार्यालयमा सालकको पार्क बनाउने, प्रचार प्रसार गर्ने जसले सालकमा आधारित टुरिजमको रुपमा समेत बिकाश गर्न सकिन्छ l
  • दार प्रवर्धन: मकवानपुरको परिचयको रुपमा स्थापित दार र त्यसको ठेकी अब सामान्य ज्ञानमा मात्र सिमित हुने अवस्था आइपुगेको छ l यसको प्रवर्धनको लागि वन कार्यालय, सामुदायिक वन, घरेलु कार्यालय र स्थानीय हस्तकला निर्मातासंग समन्वय गरेर यसलाई पुन: स्थापित गर्नु पर्ने देखिन्छ र यहाँ आउने पाहुनालाई उपहार दिंदा दारको ठेकी दिने व्यवस्थाको लागि पहल गर्नुपर्ने देखिन्छ l
  • संरक्षण शिक्षा: हेटौडा भित्रका सम्पूर्ण बिधालयमा पालिका, वन कार्यालय, शिक्षा कार्यालय, सामुदायिक वन र अन्य संघसंस्थाको सहकार्यमा इको क्लबको गठन, पुस्तक, ब्रोसर प्रकाशन, प्रसारण, वाताबरणका काममा बिधार्थीको परिचालन आदि गर्न सकिन्छ l जसले सानैबाट हाम्रा बालबालिका संरक्षणको काममा लाग्न सकुन l यसमा हामीले बुझ्नु पर्ने मुख्य कुरा भनेको हाम्रा वालाबलिकाले वन र बाताबरणको बारेमा बुझ्न पाउनु उनीहरुको पहिलो हक हो भन्ने तथ्य स्वीकार्नु पर्दछ l
  • दक्ष वन प्राविधिकको प्रयोग: हामीसंग २ वटा फरेस्ट्री क्याम्पस (त्रिभुवन विश्व बिधालय अन्तर्गत र कृषि तथा वन विश्व बिधालय अन्तर्गत) छन् जुन नेपालको दुर्लभ संयोग हो l यहाँ बि एस सि, एम एस सीको पढाइ हुदै आएकोमा केहि बर्ष देखि PHD को पढाइ पनि प्रारम्भ भएको छ l त्यो जनशक्तिको प्रयोग यहाको वाताबरणको क्षेत्रमा प्रयोग गराउन सकिन्छ l
  • वाताबरण मैत्री होटल तथा व्यवासय: हेटौडाको ठुला तथा साना होटलमा अनिवार्य रुपमा सानो भएपनि बगैंचा वा कौसी बगैंचाको रुपमा निर्माण गर्न पहल गर्ने, यथासम्भव वाताबरण मैत्री बनाउने, उनीहरुलाई अभिप्रेरणा दिने l
  • यात्रुको लागि सुलभ पार्क: लामो यात्राको क्रममा हेटौडा करिव मध्यमा पर्दछ तर यात्राको क्रममा देशभरीनै हेर्दा यात्रुलाइ केन्द्रित गरेर कुनै पनि बिश्राम गृह, सुलभ एवं सफा सौचालयको पूर्णतय अभाव देखिन्छ l हेटौडाले यसलाई नेपालकै नमुनाको रुपमा बिकाश गर्न सक्छ l यसको केहि काम चनौटा सामुदयिक वन हेटौडा १९ मा नगर पालिका, वन कार्यालयको सहकार्य र सामुदायिक वनको व्यवस्थापनमा काम प्रारम्भ भै सकेको छ l यसलाई छिटो पूर्णता दिने र अन्यत्र उपयुक्त स्थानमा निर्माण गर्ने जसले हामि पालिका एवम वन कार्यालय जनता प्रतिको उत्तरदायित्वमा पनि अगाडी छौ भन्ने कुराको संदेश जान्छ l यो देशकै अनुकरणीय काम हुन् सक्छ l
  • वाताबरण मैत्री कानुन र पूर्वाधारको निर्माण: धेरैजसो पालिका र वन कार्यालय बीच कटुताको अवस्था छ l यसमा पालिकाले बिकास निर्माणको काममा जवर्जस्ती गर्ने, वनले रोक्ने अनि एउटा सरकारी निकाय बिकाश बिरोधिको ट्याग भिर्ने र अर्को संस्था बन वा वाताबरण विरोधीको रुपमा चित्रित हुने, लोक हसाइको काम हुने देखिएको छ l यसमा आफनै कानुन निर्माण गर्ने, आवस्यक समन्वय गर्ने र वाताबरनिय मैत्री बिकाशको अवधारणालाई अवलम्बन गर्ने हो भने एउटा हामी नमुना बनाउन सक्नेछौ l यसको मौका हाम्रो पालिकालाइ छ l
  • अरु धेरै छन : यो छोटो लेखमा सबै कुरा भन्न सम्भव छैन, धेरै काम भएका छन् जो उचित प्रचार प्रसारको अभावमा छेलिएका छन र थुप्रै अन्य बिषय छन् जसलाई हाम्रो नजरले मात्र देख्न र पहिचान गर्न सकेको छैन, त्यसको खोजि गर्ने र योजना बनाएर काम प्रारम्भ गर्ने l

चुनौती:

चुनौती धेरै छन्, यहा मात्र होइन देश भरिका वन कार्यालय र पालिकाको समस्या करिव उस्तै छन् l यहाँ नाम लेखेर अर्थ पनि छैन l कतिपय चुनौती समाधान गर्न सकिने छन भने कतिपय हाम्रो मात्र मेहनतले मात्र समाधान हुने सम्भावना नै छैन तसर्थ चुनौती छ भनेर काम थालनी गर्न अलमल नगरौ l जति सकिन्छ, जहाबाट सकिन्छ त्यहाँबाट सुरु गरि हालौ l कामको सन्दर्भमा चुनौति क्रमश पन्छाउदै जाने हो l अनि यो लेखको मुख्य आशय कसरि हाम्रो हेटौडालाइ वाताबरनिय हिसाबले उत्कृष्ट गन्तब्य बनाउन सकिन्छ भन्ने हो तसर्थ म यहाँ चुनौतीलाई देखाउन चाहदिन l केवल अवसरहरुको खोजि गरौ र प्रतिकूलताको बिचमा अनुकुलताको खोजि गरौ l अवसरको सदुपयोग संगै चुनौती पन्छाउदै जाउ भन्ने हो l

साझेदारि:

अहिलेको अवस्थामा एउटा समस्या गम्भीर रुपले देखा परेको छ l राम्रा कामको जस आफु लिने र अपजस जति सबै अरुको टाउकोमा हाल्ने जसले एक अर्कालाई दोष थुपार्ने र अन्त्यमा काम नहुने र संयोजनको अभावले कयौ राम्रा र सकारात्मक कामको समेत सबैले लाभ लिन पाएका छैनन l यी र यस्ता विषयबाट सधैको लागि छुटकारा पाउन, उन्नत परिणाम प्राप्त गर्न अधिकतम संयोजन र अपनत्वको ग्रहण हो l वाताबरणका समस्या कसैले पनि एकल ढंगले समाधान गर्न सक्दैन किन कि यसको प्रकृति नै एक अर्कासंग जेलिएको हुन्छ l तसर्थ यो सवालमा अधिक भन्दा अधिक साझेदारलाइ सहभागी गराउने र वहाहरुलाई अपनत्व ग्रहण गराउन सक्ने हो भने यसले छिट्टै मुर्तरुप लिन्छ l यसको लागि सबैभन्दा ठुलो साझेदार, उपभोक्ता, प्रयोगकर्ता जे भनेपनि यहाका स्थानीय जनता नै हुन् तसर्थ नगरपालिकाले यहाका टोल बिकाशसस्था (जो वास्तवमा नै अत्यन्त सक्रिय छन्) लाइ कयौ काममा जिम्मेवारी दिने र सहकार्यको माहोल मिलाउने l यसैगरि यहाको वन कार्यालय, भू संरक्षण कार्यालय, वनस्पति कार्यालय, यहाका सामुदायिक वन, कबुलियती वन समुह, बिभिन्न राष्ट्रिय / अन्तर्राष्ट्रिय गैरसरकारी संस्था जो वाताबरणको क्षेत्रमा कार्यरत छन् नजिकै रहेको २ वटा वन बिज्ञान अध्ययन संस्थानमा प्रचुर जनशक्ति छ वहाहरु संग सहकार्य गर्न सकिन्छ र असल परिणाम प्राप्त गर्न सकिन्छ l बिधालयमा गठित इको क्लब एक महत्वपूर्ण साझेदार हुन् सक्छ l यसैगरि यहाँको होटल ब्यवसायी संघ, पर्यटनको क्षेत्रमा कार्यरत संघसंस्था, हाइकर्स, ट्रेकर्ससंग सहकार्य गर्न गराउने l नगर पालिकामा रहेको वाताबरण शाखाले र नियुक्त हुने वन प्राविधिकले यसको संयोजन गर्न सक्ने छ l अन्य संघसंस्थालाई क्रमश आवस्यकताको आधारमा थप गर्दै जान सकिन्छ l

अन्त्यमा:

धेरै जसो अवस्थामा हामीले वनलाइ वाताबरणको मुद्दामा मात्र केन्द्रित गर्यौ र अहिले पनि त्यो मनस्थितिबाट माथि उठ्न सकेको छैनौ तर यथार्थमा वन जोगाउनु भनेको रुख बिरुवा, वन्यजन्तु, वाताबरण जोगाउनु मात्र होइन इतिहासन जोगाउनु, सस्कृति जोगाउनु, सभ्यता जोगाउनु र सम्वृद्धि पनि जोगाउनु हो भन्ने कुरालाई हेटौडाले स्थापित गर्न सक्छ l हामी बागमती प्रदेशको राजधानी बासीको नाताले, नेपालका कयौ राजीनितिक आन्दोलनमा अग्रणी भूमिका खेलेकोमा गौरव गर्दछौ l यहाका स्थापित खेल क्षेत्र, साहित्य, कला, संस्कृतिमा गौअर्व पनि गर्छु , गर्नु पनि पर्छ तर एउटा छुटेको पाटो संरक्षणको पाटो छ अब यसलाई हामीले हाम्रो सहकार्यमा मुर्त रुप दिनु पर्नेछ l यदि हामीले बेलैमा यी बिषयलाई उठान गरेनौ र कार्वान्ववयन गरेनौ भने नि:सन्देह हामीले आलोचनाका मात्र हुनेछैनौ कयौ वाताबरनिय समस्याको शिकार समेत हुनेछौ l

लेखक: हेटौडा ८ निवासी, हाल डिभिजन वन कार्यालय राप्ती, मकवानपुरमा डीभिजनल वन अधिकृतको रुपमा  कार्यरत हुनुहुन्छ ।

(यो लेख लेखकको अनुमतिमा हेटौंडा दर्पणबाट साभार गरिएको हो ।)

सन्दर्भ सामग्री:

  • Bindari, Drishtant 2078 : Study and photography of avian lives for the enhancement of bird watching tourism around Rapti valley of Chitwan and Makawanpur District” An  unpublished report   submitted to Moitfe bagamati provience.
  • डिभिजन वन कार्यालय मकवानपुर को आव २०७७/७८ को बार्षिक अनुगमन पुस्तिका
  • डिभिजन वन कार्यालय राप्ती, मकवानपुरको आव २०७७/७८ बार्षिक अनुगमन पुस्तिका
  • पर्सा राष्ट्रिय निकुन्जको आव २०७७/७८ को बार्षिक अनुगमन पुस्तिका
बिष्णु प्रसाद आचार्य
थप जानकारी