हेटौँडा उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा लामखुट्टे नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने अभियान सुरु भएको छ। यस वर्षको सुरुवातदेखि डेङ्गु रोगको सङ्क्रमण सुरु भएपछि उपमहानगरपालिकाले यो अभियान सञ्चालन गरेको हो।

हेटौँडा उपमहानगरपालिकामा गत वैशाख, जेठबाट डेङ्गु रोगको सङ्क्रमण सुरु भएकामा भदौ, असोजमा पुग्दा महामारीको रूप लिएपछि उपमहानगरपालिकाले सतर्कता अपनाउँदै वर्षापूर्व नै लामखुट्टे नियन्त्रण गर्न कीटनाशक औषधि छर्कने अभियान सुरु गरेको जानकारी दिएको छ।

हेटौँडा र आसपासका क्षेत्रमा गर्मीको सुरुवातसँगै लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगको सङ्क्रमणको जोखिम बढ्न थालेको छ।

लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगको सङ्क्रमणको बढ्न नदिनका लागि उपमहानगरपालिकाले हेटौँडा उपमहानगरपालिका वडा नं. १, २, ४ र १० को मनकामना चोक, नगरपालिका रोड, चौकीटोल ओरालो, बजार क्षेत्रका मुख्य सडक, वन विज्ञान अध्ययन क्याम्पस क्षेत्र, रजत जयन्ती चोक, पारिजात पथ, राप्तीरोड, चाइना क्वाटरलगायतका क्षेत्रमा लामखुट्टेविरुद्धको कीटनाशक औषधि छर्कने अभियान सञ्चालन गर्दै आएको छ।

लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोगको सङ्क्रमणका कारण चालू आर्थिक वर्ष २०७९/८० मा हेटौँडा उपमहानगर क्षेत्रका एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरको तथ्याङ्कमा रहेको छ। स्वास्थ्य कार्यालयका अनुसार गत साउनदेखि शुक्रबारसम्ममा मकवानपुरमा महिला दुई हजार ६५६ जनासहित पाँच हजार ८६१ जनामा डेङ्गु रोगको सङ्क्रमण भएको छ।

स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक लक्ष्मण घिमिरेले चालु आवमा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिकामा चार हजार ३४० जनामा र त्यसपछि मनहरी गाउँपालिकामा एक हजार ५३ जनामा डेङ्गु रोगको सङ्क्रमण भएको छ।

डेङ्गु रोगको सङ्क्रमण फैलिन नदिन सचेतना अपनाउन आग्रह गरिएको छ। थाहा नगरपालिकामा गत साउनयता हालसम्म १७५ जनामा डेङ्गु रोगको सङ्क्रमण भएको पाइएको छ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखाका वरिष्ठ अहेव अधिकृत अनन्त बास्कोटाले गत वैशाखदेखि असोजसम्म देखिएको डेङ्गुको सङ्क्रमणले नगर क्षेत्रमा फैलिएको त्रास रोक्न यस पटक बर्खाअघि देखि नै लामखुट्टे नियन्त्रण गर्ने कार्य सुरु गरिएको र बर्खापछि पुनः लामखुट्टे नियन्त्रण गर्न कीटनाशक औषधिको प्रयोग गरिने जानकारी दिए ।

उनले भने , “अब महामारीको रूपमा नआओस् भनेर अभियान सञ्चालन गरी डेङ्गु नियन्त्रण गर्ने प्रयास सुरु गरिएको छ।”

लामखुट्टे नियन्त्रण गर्ने कार्यका लागि कीटनाशक औषधि छर्कन पाँचवटा मेसिन प्रयोगमा ल्याइएको छ। शाखाका अनुसार अहिले लामखुट्टे नियन्त्रणका लागि प्रयोग भइरहेको औषधिले मानव स्वास्थ्यमा भने नकारात्मक असर नपर्ने बताइएको छ। गाेरखापत्रबाट साभार