

एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिन पिङ र रुसका समकक्षी भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ ।
तीन दिने राजकीय भ्रमणका क्रममा रुस पुग्नुभएका चिनियाँ राष्ट्रपति सीले रुसका राष्ट्रपति पुटिनसँगको पहिलो भेटमा रुससँग आफ्नो देशको नजिकको सम्बन्ध रहेको बताए। यो भेटमा सीले दुई देश रणनीतिक सहयोगका साझेदार रहेको र सम्बन्ध अझ घनिष्ठ हुनुपर्नेमा जोड दिएको रुसी सरकारी टेलिभिजनले जनाएको छ ।
भेटमा रुसी राष्ट्रपति पुटिनले युक्रेन युद्धको समाधानका लागि चीनको प्रस्तावलाई सम्मानका साथ हेरेको प्रतिक्रिया दिए । राष्ट्रपति सीले आफ्ना रुसी समकक्षी पुटिनलाई आउँदो वर्ष हुने राष्ट्रपतीय चुनावमा रुसी नागरिकको समर्थन प्राप्त हुनेमा आफू विश्वस्त रहेको समेत उल्लेख गरे ।
रुस–युक्रेन युद्ध सुरु भएयता चीनका राष्ट्र प्रमुखबाट आफ्नो छिमेकी र नजिकको रणनीतिक साझेदार रहेको देश रुसको भ्रमण गरेको यो पहिलो पटक हो । चीनका राष्ट्रपति सीको रुस भ्रमण हेगको अन्तर्राष्ट्रिय फौजदारी अदालतले पुटिनलाई युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाएको केही दिनपछि भएको हो ।
युक्रेन र बेलायतले पनि चिनियाँ नेतालाई आफ्नो प्रभाव प्रयोग गर्न र मस्कोलाई युद्ध अन्त्य गर्न दबाब दिन आग्रह गरेका छन् । चीनका राष्ट्रपति सीले युक्रेनका राष्ट्रपति भाेलाेदिमिर जेलेन्स्कीसँग पनि कुराकानी गर्ने तयारी रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्