हेटौंडा । पूर्वी मकवानपुरको बामगती गाउँपालिकामा आयोजना गर्न लागिएको ४ दिने रामनवमी मेलाको तयारी तिब्र पारिएको छ ।

आगामी चैत १३ गतेदेखि १६ गतेसम्म बागमती–८, शान्तिपुर फापरबारीस्थित रामजानकी मन्दिरमा मेला हुने भएको स्थानीय समाजसेवी तथा सल्लाहकार किशोर रानाले जानकारी दिए ।

मेलाको तयारीका लागि धमाधम काम भईरहेको मेलाका संयोजक खड्कबहादुर पुलामीले बताए । स्थानीय धार्मिक मेला र व्यापारलाई प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो । २०३३ सालदेखि वार्षिकरुपमा हुँदै आएको उक्त मेला कोरोना माहामारीपछि सञ्चालन हुन सकेको थिएन ।

ऐतिहासिक राम नवमी मेला फापरवारीको हाम्रो शान स्थानीय कला संस्कृति, कृषि, पर्यटन प्रवद्र्धन हाम्रो पहिचान भन्ने मुल नाराका साथ स्थानीय धार्मिक तथा ब्यापार मेलाको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार मेलामा गायक तथा संगितकार विश्व दोङ, तारा प्रकाश लिम्बु, क्षितिज रानामगर लगायतकाले साँगितिक प्रस्तुति दिने कार्यक्रमतय भएको छ । मेलामा फापरबारी स्थानीय डान्सिङ आइडल कम्पिटिसन पनि हुने उनले बताए । मेलामा निःशुल्करुपमा अवलोकन गर्न सकिने जनाइएको छ ।