सुनसरी । गरे के हुँदैन । इच्छाशक्ति र जाँगर भए सबै सम्भव छ । यही भनाइलाई चरितार्थ गर्नुभएको छ सुनसरीको भोक्राहाका जब्बासा मियाले । भनेजस्तो काम र कमाई नभएपछि खाडी मुलुकबाट फर्किएका जब्बासा यतिबेला भने आफैँ मालिक छन् । इनरुवा ८ मा १३ बिगाहा जमिन भाडामा लिएर एकल लगानीमा काम थालेका उनी तेस्रो वर्षमा खेती गरिरहेका छन् । जसले उनलाई करोडपति बनाइसकेको छ । मौसमी खेती गर्दै आएका उनले यतिबेला खेतमा काँक्रो र भान्टा फलाएका छन् ।

भाडाको जग्गामा केरा खेतीसँगै विभिन्न सागसब्जीको उत्पादन बेच्न उनलाई भ्याईनभ्याई छ । उनले मासिक २० हजारसम्म तलब दिएर २० जना कामदारलाई रोजगारी समेत दिएका छन् । आफ्नो खेती र किसानी पेशामा दङ्ग उनी उब्जाउलाई बिस्तार गर्ने सोचमा रहेका छन् । विदेशमा भनेजस्तो नभएपछि फर्केर किसानी पेशामा लागेको बताउने जब्बासा वार्षिक १ करोड हाराहारीको आमदानी गर्ने गरेको बताउँछन् । जसबाट घरखेत जोड्दै गएको उनले बताए ।

उनले भने, ‘अर्काको अनुशासनमा बस्न र दुःख झेल्न किन विदेश जाने ! आफ्नै माटोमा श्रम बगाए यहीँ छ सबकुच । परिवार, पैसा अनि शान्ति, केरा खेतीमा मनग्य आम्दानी छ । तरकारीमा खर्च कटाएर चार भागको तीन भाग आम्दानी गर्न सकिन्छ । कोही कसैले सिक्न चाहे आफूले जानेको सिकाउन सदैव तयार छु ।’

जब्बासाले उत्पादन गरेको तरकारी अधिकांशजसो पूर्वका ठूला बजारमा पुग्ने गर्छ । तरपनि उनी स्थानीय बजारमा भारतीय व्यापारीको रजार्इंका कारण खुशी छैनन् । नेपाली उत्पादनले ठाउँ नै नपाउँदा आफू जस्ता किसान मार्कामा पर्ने गरेको उनको दुखेसो छ । उनले सरकारसँग साना किसानहरुलाई पनि हेरिदिओस् भन्ने अपक्षा राखे । राताेपाटीबाट