हेटौंडा । पूर्वी मकवानपुरको बागमगती गाउँपालिकामा रामनवमी मेला सुरु भएको छ । बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले मेलाको उदघाटन गरेका हुन् । उदघाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष फनिन्द्र कुमार तिमल्सिना, वडाअध्यक्षहरु, राजनीतिक दलका प्रतिनिधि, स्थानीय समाजसेवीको सहभागिता रहेको थियो ।

चैत १६ गतेसम्म बागमती–८, शान्तिपुर फापरबारीस्थित रामजानकी मन्दिरमा मेला संचालन हुने मेलाका संयोजक खड्कबहादुर पुलामीले जानकारी दिए । मेलामा करिव एक सय स्टलहरु रहेका छन । मेलामा बाल उद्यान, खाना, कपडा, भाडाकुडा, खाद्यान्न, जुत्ता चप्पलका स्टलहरु छन ।

करिव दुई करोड कारोवारको लक्ष्य राखिएको मेलामा लगभग एक लाख बढी दर्शकले अवलोकन गर्ने आयोजकले अनुमान गरेको छ । मेला अवलोकन गर्न मकवानपुर सहित सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, काभ्रे र ललितपुरबाट दर्शकहरु आउने मेला आयोजक समितिका सह संयोजक मनोज नेगीले जानकारी दिए ।

मेलामा स्थानीय उत्पादनहरु प्रवद्र्धन गरिने आयोजकले जनाएको छ । स्थानीय स्तरमा उत्पादन भएका सुन्तला, बेसार, केरा, साग, कफी, बागमती खोलाको माछा, अर्गानिक बुंगुरको छोइला, फापरको ढिलो लगायतका खाद्यान्नको प्रवद्र्धन तथा स्थानीय कला संस्कृति, तामाङ समुदायको डम्फु नाच, भजन किर्तन, राई, मगरको संस्कृति झल्कने साँस्कृतिक कार्यक्रम पनि गरिने स्थानीय समाजसेवी तथा सल्लाहकार किशोर रानाले जानकारी दिए ।

ऐतिहासिक राम नवमी मेला फापरवारीको हाम्रो शान स्थानीय कला संस्कृति, कृषि, पर्यटन प्रवद्र्धन हाम्रो पहिचान भन्ने मुल नाराका साथ स्थानीय धार्मिक तथा ब्यापार मेलाको आयोजना गरिएको बागमती गाउँपालिका वडा नं. ८ का वडाअध्यक्ष केशव तिमल्सिनाले बताए ।

मेलामा गायक विश्व दोङ, तारा प्रकाश लिम्बु, क्षितिज रानामगर लगायतकाले साँगितिक प्रस्तुति दिने कार्यक्रमतय भएको आयोजकले जनाएको छ । २०३३ सालदेखि वार्षिकरुपमा हुँदै आएको उक्त मेला कोरोना माहामारीपछि सञ्चालन हुन सकेको थिएन ।