हेटौंडा । वडा कार्यालयको सेवा लिनसमेत ३ घण्टासम्मको पैदल यात्रा गर्नुपर्ने बाध्यतामा रहेका मकवानपुरको विकट राक्सिराङ गाउँपालिकाका स्थानीयले घरघरमै स्थानीय तहको सेवा प्राप्त गरेका छन् । एकीकृत घुम्ती शिविरमार्फत गाउँपालिकाले सबै किसिमका सेवा घरमै पाएपछि दंग परेका छन् । गाउँपालिकाले विभिन्न वडाहरु लक्षित गरी गत फागुन २९ गतेदेखि सुरु गरेको एकीकृत घुम्ती शिविरमा करिब ६ हजार जना स्थानीयले विभिन्न किसिमका सेवा लिएका छन् ।

आम नागरिकलाई स्थानीय सरकारका सबै किसिमका सेवाको पहुँच वृद्धि गर्दै सरल र सहज सेवा दिने उद्देश्यले गाउँपालिकाले घरघरमै पुगी घुम्ती शिविरको आयोजना गरेको हो । घरघरमै पुगी बिरामी जाँचदेखि योजना अनुगमन र स्थलगत रुपमै भुक्तानीसम्मका सेवा पाएपछि स्थानीय खुसी बनेका छन् ।

‘सेवा लिने सबैको अधिकार, घरघरमा स्थानीय सरकार’ भन्ने नाराका साथ गाउँपालिकाले गत फागुन २९ गते ४ नम्बर वडाबाट एकीकृत घुम्ती सेवाको सुरुवात गरेको थियो । विभिन्न वडालाई केन्द्रित गरी ४ स्थानमा गाउँपालिकाले एकीकृत शिविरमार्फत सबै प्रकारका सेवा दिएको थियो । बिहीबार राक्सिराङ १ र २ नम्बर वडालाई केन्द्रित गरी १ नम्बर वडाको दुङ्गुमा एकीकृत शिविरको आयोजना गरेको थियो ।

शिविरमा एमबिबिएस डाक्टरसहितको स्वास्थ्य सेवा र निशुल्क औषधि वितरण, पुशका औषधि वितरण, विभिन्न किसिमका औषधिहरु निशुल्क वितरण गरिएको थियो । गरिएको थियो । साथै सोही स्थानबाट स्थानीयलाई तरकारीका बिउ वितरणका साथै पशुका रोगविरुद्धको औषधिसमेत निशुल्क उपलब्ध गराइएको थियो । ४ स्थानमा भएको छुट्टाछुट्टै शिविरमा करिब २ हजार जनाले स्वास्थ्य जाँच सेवाका साथ निशुल्क औषधि प्राप्त गरेका थिए । स्वास्थ्य सेवा अन्तर्गत गर्भवती जाँच, भिडियो एक्सरे, क्षयरोगको खकार जाँच, परिवार नियोजनको अस्थायी साधन आयुसिडी र इम्प्लान्ट लगाइएको थियो । आयुर्वेद सेवातर्फ करिब सात सय ५० जनाको जाँच तथा औषधि वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षसहित कर्मचारीको टोलीले नै गाउँमा सेवा दिन पुगेको थियो । ज्येष्ठ नागरिक, अशक्त तथा हिँड्न नसक्ने बिरामीहरुको घरघरमै पुगी स्वास्थ्य जाँच र निशुल्क औषधिकोसमेत व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए । शिविर अवधिभर करिब ५० जना अशक्त नागरिकको घरमै पुगी उपचार गर्नुका साथै निशुल्क औषधि वितरण गरिएको थियो । खरको छानोमुक्त अभियानअन्तर्गत करिब ४५ परिवारलाई घरमै पुगेर जस्तापाता हस्तान्तरण गरिएको एकीकृत शिविरमै व्यवसाय दर्ता, अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचयपत्र वितरण, गरिब घरपरिवार परिचयपत्र वितरणसमेत गरिएको थियो । शिविर अवधिभर १० जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको थियो भने करिब ४ सय जनालाई गरिब घरपरिवार परिचयपत्र हस्तान्तरण गरिएको थियो ।

बिउ बिजनतर्फ उक हजार जनाले सेवा दिएका छन् भने पशुपंक्षीतर्फ करिब एक हजार ३ सय जनाले सेवा लिएको जनाइएको छ । १७ वटा कृषक समूहलाई हाते ट्याक्टरसमेत वितरण गरिएको छ । गाउँपालिकाले बिजुली बत्ती नपुगेका ठाउँमा झण्डै ६० भन्दा बढी परिवारलाई सोलार सेटसमेत घरमै पु¥याइदिएको छ ।

८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने उद्देश्यले जनप्रतिनिधि र कर्मचारीहरु घरघरमै पुगी पोषिलो आहार तथा उपयोगी सामाग्रीहरुसमेत हस्तान्तरण गरेका थिए । शिविर अवधिभर करिब ६० जना ज्येष्ठ नागरिकलाई सम्मान तथा पोषिलो आहार वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले जानकारी दिए । सम्पन्न भएका योजनाको स्थलगत रुपमै अनुगमन गरी भुक्तानी दिने कार्यअन्तर्गत ६ वटा उपभोक्ता समितिलाई स्थलगत रुपमै भुक्तानी दिइएको गाउँपालिकाका योजना तथा अनुगमन शाखाका अधिकृत चुननारायण श्रेष्ठले बताए ।

गाउँपालिकाले फागुन २९ गते ४ नम्बर वडा कार्यालय, चैत ६ गते ९ नम्बर वडा कार्यालय डन्टार, ६, ७ र ८ नम्बर वडाका लागि राक्सिराङ ७ स्थित जुरेथुममा चैत १४ गते र चैत २२ गते वडा नम्बर १ र २ का लागि राक्सिराङ १ दुङ्गुमा एकीकृत शिविरको आयोजना गरेको थियो । गाउँपालिकाले यो अभियानलाई निरन्तरता दिने जनाएको छ । आगामी वर्ष प्रत्येक वडा तथा टोलमा पुगी एकीकृत शिविर सञ्चालन गर्नेगरी योजना बनाइएको गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए ।