कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

कर्कट राशिका जातकहरूका लागि यो वर्ष मध्यम नै रहनेछ । वर्षभरी शनिग्रहको अढ़ैयाले सकारात्मक फल नदेला । बृहस्पति, शनि, राहु र केतुले अशुभ स्थानमा गोचर गर्नाले पनि राम्रो फल नदेला, आर्थिक उतारचढाव गराउने र नजिकका व्यक्तिसँग वादविवाद तथा दूरी बढाउन सक्छ । जन्म कुण्डलीमा बृहस्पति र शनि राम्रो अवस्थामा भए शुभ फल दिनेछ । वर्षको मध्यमा समय राम्रै भएपनि अनेकौं तर्क र खुलदुली उत्पन्न हुनेछ र ठोस निर्णय लिन नसकिएला ।

व्यापार/व्यवसाय
व्यापारीका दृष्टिले यो वर्ष सामान्य नै रहने छ अत: बुद्धिले काम गर्दा फाइदा मिल्नेछ । आस मारिसकेको र रोकिएका धन हात पर्न सक्छ । धनार्जनका स्रोत बढेर जानेछ । तरल पदार्थ, घरजग्गा, शृंगार र सेयरबजारबाट राम्रो सफलता मिल्नेछ । वर्षको उत्तरार्धमा दलाली र खाद्यान्नको कारोबारमा भने मन्दी आउनेछ । आर्थिक दृष्टिले वैशाख, साउन, असोज र माघ महिना लाभदायक रहनेछ ।

प्रेम/सम्बन्ध
यो वर्षको ग्रह गोचर हेर्दा तपाईंको प्रेम प्रसङ्गका लागि मध्यम नै रहनेछ । पुराना प्रेमी जोडीहरूको सम्बन्ध सुमधुर हुँदै पारिवारिक समर्थन मिल्नेछ । नयाँ प्रेम सम्बन्ध भने नजोडेकै राम्रो हुनेछ, तर पुराना सम्बन्ध र टाढिएका व्यक्ति नजिकै हुनसक्छन् ।

शिक्षा
यो वर्ष कर्कट राशिका जातकलाई अध्ययन अध्यापनको क्षेत्रमा सुधार आउनेछ र मिहिनेत गरे अनुसार सफलता मिल्नेछ । पुराना र नयाँ रिजल्ट राम्रै हुन सक्नेछ । डिजाइन, भाषा, प्राविधिक तथा व्यवस्थापन विषयका विद्यार्थीहरूलाई अधिक सफलता मिल्नेछ । विदेश गएका विद्यार्थीहरूलाई पनि राम्रै हुनेछ ।

पेशा/रोजगार
यो वर्ष आफ्नो पेशा वा कार्य क्षेत्रमा झमेला आउन सक्नेछ । साउन महिना पछि नयाँ रोजगारको अवसर आउनेछ । सरकारी कर्मचारीहरूले बढी सजगता अपनाउनु पर्नेछ । राहु र शनिको नकारात्मक प्रभावले झुटा आरोप लाग्न सक्नेछ । कानूनी झमेला तथा राजनैतिक क्षेत्रमा पनि विविध समस्या र संघर्ष खेप्नु पर्ला ।

स्वास्थ्य
प्रजनन, पेट र नसाको समस्या बढ्नाले दीर्घकालीन औषधी सेवनको सम्भावना पनि रहन्छ । आफन्त र घरपरिवारको स्वास्थ्य उपचारमा खर्च पनि बढ्नेछ । पाचन प्रणाली र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन सक्छ, अत: खानपिनमा सावधानी अपनाउनु होला ।

शुभ रङ्ग
सेतो, रातो, हरियो र पहेँलो शुभ रङ्ग हो ।

शुभ अङ्क
२, ३, ६ र ७ शुभ अङ्क हो ।

दर्शन/पूजा/उपाय
ग्रह पीडा कमगर्न बृहस्पति, शनि, राहु र केतु सहित नवग्रह शान्ति र जप गर्दा राम्रो हुनेछ साथै शनिबार हनुमानजीको दर्शन, पूजा र व्रत बस्नाले पनि राम्रो हुन्छ । जन्मदिन वा शनिबार बरपिपलको वृक्षारोपण गर्दा भाग्यको बढोत्तरी हुने र गरेको कार्यबाट सफलता मिल्दै जानेछ । आफ्नो जन्म बारमा शाकाहारी खाना खाने र कुनै शुभ कर्म गर्नपूर्व या यात्रामा जानु अघि हनुमानजीको स्मरण गर्नाले अधिक राम्रो हुनेछ ।

साभारः हाम्रो पात्रो