हेटौंडा । साहित्य सङ्गम मकवानपुरको आयोजनामा हेटौंडामा दुई दिने साहित्य महोत्सव सुरु भएको छ । शुक्रबारदेखि सुरुभएको हेटौंडा साहित्य महोत्सवमा साहित्यसम्बन्धी विविध रचनात्मक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

महोत्सवमा कला र साहित्यसँगै हेटौँडाका विविध पक्षमा बहस एवं छलफल हुने सङ्गम मकवानपुरका अध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन । साहित्यका विभिन्न पक्ष, हेटौँडाको विकासको बहस, कविता, गजल, मुक्तक वाचन, चित्रकला प्रदर्शनी, आदिवासी जनजातिका कथालगायत महोत्सवको छलफलको विषय रहेको उनले बताइन।

यस्तै, महोत्सव अवधिमा नै मुक्तक महक, ३३० औँ साहित्य सन्ध्या, स्रष्टा सम्मान तथा कृति विमोचन गरिने बताइएको छ । महोत्सवको शुक्रबार हेटौँडामा उदघाटन गर्दै हेटौँडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले साहित्य र कलाको विकासबिना समाज विकासले पूर्णता नपाउने बताइन ।

पहिचानलाई स्थापित गर्न साहित्य, कला र संस्कृतिको क्षेत्रको संरक्षण विकास आवश्यक रहेको उनले बताइन। सङ्गमले महोत्सवका अवसरमा साहित्यकार एवं गीतकार शम्भु बास्कोटासहित एघार जना स्रष्टालाई सम्मान गर्ने जनाएको छ ।