हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका वडा नं. १२ धेत्रेदमारमा रहेको काला भैरव प्राथमिक विद्यालयको नव निर्मित विद्यालय भवन उदघाटन तथा समुदायलाई हस्तान्तरण गरिएको छ ।

चाइल्ड रेस्क्यु नेपालको आर्थिक सहयोग र इस्थर बेन्जामिन्स मेमोरियल संस्थाको व्यवस्थापन तथा बकैया गाउँपालिकाको सहकार्यमा २७ लाख ६३ हजार ९५४ रुपियाँ लागतमा दुई कोठे पक्की भवन, खानेपानी, वालमैत्री धारा र शौचालय निर्माण गरिएको थियो । बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने र चाइल्ड रेस्क्यु नेपालकी देशीय निर्देशक जमुना श्रेष्ठले संयुक्त रुपमा विद्यालय भवनको उदघाटन गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजय घिसिङको सभाध्यक्षतामा भएको कार्यक्रममा बकैया गाउँपालिका वडा नम्बर ११ का वडा अध्यक्ष एवम बकैया गाउँपालिका शिक्षा विकाश शाखा संयोजक गोपाल बहादुर नेसुर, वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानेन्द्र बजगाईं, इस्थर बेन्जामिन्स मेमोरियल संस्थाका मकवानपुर जिल्ला कार्यक्रम व्यवस्थापक बुद्धवीर लामा, अनुगमन तथा मूल्यांकन प्रमुख सानुकान्छा घलान, संस्थाका सल्लाहकार जगदिश भट्टराई, विद्यालयका प्रधानाध्यापक चेत बहादुर घले, स्थानीय समाजसेवी, अभिभावक, संचारकर्मी लगाएतको उपस्थिति रहेको थियो ।

विद्यालयमा हाल धेत्रे, गोदाम डाँडा, ढिस्कापाखा, चुवार पाखा र अजिंगरेका २३ जना विद्यार्थीहरु अध्ययनरत छन् । यहाँ बालविकास शिक्षा पनि संचालनको तयारी गरिएको छ । २०५३ सालमा प्लान नेपालले स्थापना गरिदिएको यस विद्यालय २०६१ मा जिल्ला शिक्षा कार्यालयबाट अनुमति लिई सञ्चालनमा रहेको छ ।