हेटौंडा । सर्वसाधारणको सहजताको लागि मकवानपुरको मनहरी अस्पतालमा विहान ८ बजेबाटै ओपिडी सेवा सञ्चालन हुँदै आएको छ।

सामान्यतया विहान १० बजेबाट ओपिडी सेवा सञ्चालन हुने भएपनि सर्वसाधारणको सहजताको लागि ८ बजेबाटै सेवा सञ्चालन गरिएको हो।

मनहरी गाउँपालिकाले भदौ १ गतेदेखि विहान ८ बजेबाटै ओपिडी सेवा दिन सुरु गरेको हो। मनहरी गाउँपालिका ७ मा रहेको यो अस्पतालमा मनहरीसहित मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाबाट समेत सर्वसाधारण आउने गरेका छन्।

‘यसअघि बिहान १० बजेबाट सेवा दिँदै आएकोमा भदौ १ बाट हामीले ८ बजेदेखि नै ओपिडी सेवा दिन सुरु गरेका छौं’, मनहरी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र दाहालले भने, ‘बिरामीको चाप बढी हुने र मनहरीसहित अन्य पालिकाबाट समेत सर्वसाधारण उपचारको लागि आउने भएकोले वहाँहरुलाई सहज होस् भनेर यो निर्णय गरिएको हो।

राक्सिराङ, कैलाश लगायतका पालिकाबाट घण्टौ लगाएर आउने बिरामीलाई यसबाट सहज भएको उनको दावी छ।  ‘सम्भवत ८ बजेबाटै ओपिडी सेवा सुरु हुने निकै कम अस्पताल होला। गाउँपालिकामा नयाँ नेतृत्व आएसँगै यो कार्यको थालनी गरिएको हो। यसले सर्वसाधारणलाई राहत पुगेको छ’, दाहालले भने। मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले मनहरी अस्पतालको निरीक्षणको क्रममा सर्वसाधारणको भिड लागेको देखेपछि ८ बजेबाटै ओपिडी सेवा सुरु गर्ने निर्णय गरिएको सुनाए। ‘बृद्ध बाआमाहरु लट्ठी टेकेर लाइनमा बसिरहेको र वहाँहरुलाई निकै समस्या भएको देखेपछि अस्पतालसँगको समन्वयमा यो निर्णय गरिएको हो’, कालाखेतीले भने, ‘यसले अस्पतालमा आउने बिरामीलाई सहयोग पुगेको बुझेको छु। अस्पतालका कर्मचारीहरुको सकारात्मक सहयोगले यो सम्भव भएको हो।’

प्रस्तावित १५ शैयाको मनहरी अस्पतालको अहिले नयाँ भवन निर्माणको क्रममा रहेकोले अस्थायी भवनबाट सेवा प्रवाह भैइरहेको छ। अस्पतालमा स्थायी र करार गरी २४ कर्मचारी रहेका छन्। मनहरी गाउँपालिकाले गर्भवतीका लागि हाँडीखोला स्वास्थ्यचौकीबाट निःशुल्क भिडियो एक्सरे सेवा समेत उपलब्ध गराउँदै आएको छ। यस वापत लाग्ने रकम गाउँपालिकाले नै सोधभर्ना गर्दै आएको छ। यसैगरी मनहरी र हाँडीखोलाबाट गर्भवती जाँच सेवा समेत निःशुल्क हुँदै आएको छ। सर्वसाधारणको आँखाको समस्यालाई ध्यानमा राख्दै मनहरी आँखा जाँच सेवा समेत सञ्चालन भैरहेको छ। गाउँपालिकाले अहिलेसम्म एकहजार ८०५ परिवारको निःशुल्क स्वास्थ्य बीमा समेत गरिदिएको छ। विपन्न परिवारलाई पालिकाले निःशुल्क स्वास्थ्य बीमा गरेको हो।  नागरिक दैनिकबाट