हेटौंडा । स्वदेशमा रोजगारीको अभाव देखाउँदै विदेश पलायन हुने क्रम दिनप्रति दिन बढ्दै गएको छ । देशमा भएका शिक्षित र दक्ष युवाहरू विश्वका विभिन्न देशहरूमा रोजगारीका सिलसिलामा पलायन हुने क्रम रोकिएको छैन ।

राज्यले बढ्दो वैदेशिक पलायनलाई रोक्न स्वदेशमै उद्यमी र स्वरोजगार बनाउने कार्यक्रम ल्याए तापनि युवा वर्गलाई खासै स्वदेशमै टिकाउन सकेको छैन ।

यस्तै नेपाली समाजमा देखिएका समस्याहरूका बीच हेटौंडाका–१९ स्थित नेवारपानीका ३८ वर्षीय उसमान वाइबा भने भएको नेपाली सेनाको जागिर नै छाडेर बाख्रापालनमा भविष्य खोज्दै होमिएका छन् ।

२०६२ सालमा नेपाली सेनामा प्रवेश गरेका वाइबाले २०७४ सालमा नेपाली सेनाबाट उपदानमा राजीनामा दिँदै बाख्रापालन व्यवसायमा होमिएका थिए।

नेपाली सेनामा रहँदा घरपरिवारलाई समय दिन नसकेको भन्दै जागिर नै छाडेका उनले जागिर छाड्नु पूर्व नै २०७२ सालबाट बाख्रापालनको तयारी गरेका थिए।

नेपाली सेनाको जागिर छाड्दा आएको ११ लाख रुपैयाँमध्ये ८ लाख लगानीमा उनले भौतिक संरचना निर्माण गरेका थिए। सुरुमा २० वटा माउ बाख्राबाट सुरु गरे तापनि अहिले उनको बाख्रा खोरमा साना ठूला गरी ५५ बाख्रा रहेको उनले बताए।

उनले भने ’२० वटाबाट सुरु गर्दै त्यसबाट भएको उत्पादनले ११०÷११५ वटासम्म बाख्रा पाले। बजारको समस्या छैन। अहिले व्यापारी नै यही आएर लैजान्छन्।’ पहिले वार्षिक १०/१२ लाख आम्दानी हुने गरे तापनि अहिले त्यो घटेर ५/६ लाखको मात्र आम्दानी हुने गरेको बताए ।

घरमै बसेर आफ्नो गाउँमै बसेर मासिक ४०/४१ हजार कमाई रहेकोमा उनले खुशी व्यक्त गरे। सुरुवाती चरणमा राम्रो भए तापनि अहिले बाख्राहरूमा तुइने रोग आएकोले सोचे अनुरुपको उत्पादनै हुन नसकेको उनले सुनाए।

पछिल्लो समय नेपालमा बाख्राहरूमा यो रोग निकै बढेको भन्दै यसको समाधान गर्न सरकारले खासै चासो नदेखाएकोमा भने दुःख व्यक्त गरे। उनी भन्छन्, ’अहिले मेरो मात्र समस्या होइन देशभर बाख्रा पाल्ने कृषकहरूमा बाख्रा तुइने समस्याले चुनौती सिर्जना गरेको छ।’

यसको रोकथामका लागि स्थानीय तहहरू, प्रदेशको कृषि तथा पशुपन्छी निर्देशनालय लगायतबाट विज्ञसहित गाउँमा आएर हेरेर गए तापनि यसको समाधान भने हुन नसकेको उनले बताए।

उनले भने, ’पाल्यो÷पाल्यो उत्पादन हुने समयमा तुइन्छ यो बुस्सोलेसिसको रोग कारणले गर्दा भएको रहेछ पछि थाहा पाए। यस्तो समस्या छिमेकी राष्ट्र भारतमा पनि रहेछ। तर त्यहाँ बाख्रामा भ्याक्सिन प्रयोग गरेर कम भएको रहेछ।’ नेपालमा भने त्यसको प्रयोग हुँदैन। यहाँ नीतिगत समस्या रहेकाले नीति परिमार्जित गर्नुपर्ने उनले बताए । स्वदेशमै केही गर्छु भन्ने युवाहरूलाई लक्षित गर्दै कृषि क्षेत्रमा देखिएको समस्याहरूलाई मनन गर्दै सरकारले यसको समाधान गर्नुपर्ने उनको भनाइ छ ।

हुँदा खादाको जागिर छाडेर घर आएको भन्दै पहिले त उनलाई आफन्तहरूले के गरेको भनेर सोध्ने गरेका थिए। अहिले उनको काम देखेर आफन्त साथीभाइ लगायत उनको बाख्रा फार्म अवलोकन गर्न आउने मान्छेहरूबाट आएको प्रतिक्रियाले भने उनलाई खुशी लाग्ने गरेको बताए ।

उनले भने, अहिले भर्खर ११÷१२ पढ्दै गरेको भाइबहिनीहरूलाई पछि पढेर के गर्छौ भनेर सोध्यो भने अधिकांश वैदेशिक रोजगार नै भन्ने गर्छन्। प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हाम्रो घर परिवारले नै स्वदेशमा केही हुन्न विदेश नै जानुपर्छ भन्ने मनस्थिति तयार गर्न सहयोग गर्दै गएको छ। राज्यले ल्याएको युवा लक्षित नीतिहरूले युवाहरूलाई छुनै सकेको छैन ।’

उनले अहिले बाखापालनसहित बङ्गुर, कुखुरा र तरकारी खेती पनि सँगसँगै अघि बढाएका छन् । अन्नपूर्ण पोष्टका लागि हेटौंडाबाट सरोज पौडेलले तयार पारेको समाचार सामाग्री हामीले साभार गरेका हौं ।