हेटौंडा । दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८० अन्तर्गत भएको पुरुष क्रिकेट प्रतियोगितामा चितवनले स्वर्ण पदक जितेको छ । चितवनस्थित गौतम बुद्ध क्रिकेट मैदानमा शुक्रबार सम्पन्न फाइनलमा ललितपुरमाथि ३६ रनको जित निकाल्दै चितवनले स्वर्ण जितेको हो ।

निर्धारित २० ओभरमा १६७ रनको लक्ष्य पछ्याएको ललितपुरले आठ विकेट गुमाउँदै १३० रन मात्र जोडेपछि चिवतनले सहज जित निकाल्यो । चितवनका बलर दिवस आचार्यले पाँच विकेट लिनुभयो। उहाँले चार ओभरमा १५ रन मात्र खर्च गरे ।

दीपेश श्रेष्ठले दुई तथा गौतम केसीले एक विकेट लिएका थिए । ललितपुरका विवेक रानामगर २७ रनमा नटआउट रहँदा ओपनर आशुतोष घिरैया २५ रन, रोनिम तिवारीले १६ रन र आरस तामाङले १४ रनबाहेक अन्यले दोहोरो अङ्कमा रन बटुल्न सक्नुभएन। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १६६ रनको योगफल जोडेको थियो। निकै खराब सुरुआत गरेको चितवनले २.१ ओभरमा नै दुई विकेट गुमाउँदा ११ रन मात्र जोडेको थियो ।

प्रतियोगितामा काठमाडौँका इसान पाण्डे प्लेयर अफ दी सिरिज, काठमाडौँकै मनोज यादव उत्कृष्ट बलर र चितवनका प्रतीक श्रेष्ठ उत्कृष्ट ब्याट्सम्यान घोषित भए । विजेतालाई प्रदेश खेलकुद विकास परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी, प्रदेश खेलकुद विकास परिषद्का कार्यालय प्रमुख देवनारायण चौधरीलगायतले पुरस्कार विरतण गरेका थिए । यसअघि भएको महिला क्रिकेटको उपाधि भने काठमाडौंले जितेको थियो ।