हेटौँडा । बागमती प्रदेश खेलकुदमा पहिलोपटक समावेश गरिएको रग्बी प्रतियोगिताको उपाधि मकवानपुर र भक्तपुरले जितेका छन्।

हेटौँडामा जारी दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न रग्बीको महिलातर्फको उपाधि मकवानपुर र पुरुषतर्फको उपाधि भक्तपुरले जितेका हुन्।

महिलातफको उपाधि भिडन्तमा मकवानपुरले ललितपुरलाई १७–१० स्कोरले हरायो। मकवानपुरका लागि पुष्पा खड्काले २ तथा मनीषा घिसिङले १ ट्राई गर्दा मकवानपुरकी ज्योतिका बम्जनले १ कन्भर्सन गरिन्। ललितपुरका लागि कमला राई र प्रेक्षा वाग्लेले समान एक–एक ट्राइ गरे।

यता, पुरुषतर्फ भक्तपुरले मकवानपुरलाई हराउँदै उपाधि जित्न सफल भयो। फाइनलमा भक्तपुरले मकवानपुरलाई ३१–५ स्कोरले पराजित गर्‍यो। भक्तपुरका सुरज रानाले २ तथा प्रवेश पनेरू, रमेश बानियाँ र नरेन्द्रप्रसाद जोशीले एक–एक ट्राई गरे। मकवानपुरका अनिश तामाङले १ ट्राई गरे।

दुईदिने प्रतियोगिताको पुरुषतर्फ ८ र महिलामा ५ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए।