हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.४ स्थित कमलडाँडामा घाइते अवस्थामा फेला परेका एक पुरुषको मृत्यु भएको छ ।

नामथर वतन नखुलेको अन्दाजी ३०÷३५ बर्षीय पुरुषको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीका अनुसार पुरुष शुक्रबार विहान स्थानीय उत्तम उप्रेतिको घर नजिकै टाउकोमा चोट लागेको अवस्थामा फेला परेका थिए । स्थानीयहरुको सहयोगमा प्रहरीले उपचारको लागि अस्पताल लगिएको थियो । उनको आज शनिबार बिहान ८ बजे उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको उनले बताए ।

मृतक पुरुषको हुलिया मागी खाई हिड्ने र मानसिक अवस्था ठिक नभएको जस्तो देखिने प्रहरीको भनाई छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।